साँचो अर्थमा आफूलाई सुपरम्यान साबित गर्न खोजेकै हुन् हाम्रा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले। मिर्गौला पुनः प्रत्यारोपणको दसौं दिनमा अस्पतालबाट लड्खडाउँदै निस्केका प्रधानमन्त्री ओली कति सक्रिय भैसके त्यो त जगतलाई देखाइएको छ टेलिभिजनमार्फत्। प्रम ओलीको अविचलित आत्मविश्वास र अदम्य साहसको निरन्तर प्रशंसा गर्न नयाँ–नयाँ भजनमण्डली तयार भएका छन्।
यो मण्डलीमा डाक्टर, नर्स, एनेस्थेसिया स्पेसलिष्टलगायत मेडिकल पेशाका तमाम व्यक्तित्व लागेका छन् जसले प्रम ओलीको सेवाको अवसर पाएको थियो। अहिले उनीहरू आफ्नो अनुभवसहित फेसबुक, ट्विटरमा निरन्तर देखिने गरेका छन्। ती भारतीय डाक्टर र उनका सहयोगी, जो प्रम ओलीको मिर्गौला प्रत्यारोपणमा भैपरि आउन सक्ने अवस्थाका लागि झिकाइएका थिए, यो मण्डलीमा छैनन्। एउटैमात्र खेदको कुरा यही छ।
प्रम ओलीले आफू ‘सुपरम्यान’ नै भएको तथ्यलाई आफना मन्त्री, ‘आफ्ना जनता’ र अरु सबैका अगाडि साबित गरिसकेका छन। तर, जे भए पनि उनले आफ्नो अपरेसन गर्ने, हेरविचार गर्ने र तारिफ गर्ने कसैलाई तक्मा दिन पाउने छैनन्। प्रम ओलीलाई थाहा छ–उहिले राजा वीरेन्द्र उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए। उनले आफू डिस्चार्ज भएको दिन डाक्टरदेखि स्वीपरसम्मलाई मान–पदवी र तक्मा बाँडेका थिए।
अहिले प्रम ओलीलाई पनि राजा वीरेन्द्रले जस्तै मान–पदवी र तक्मा बाँड्न मन लागेको त पक्कै होला। तर, त्यसरी सोझै मान–पदवी र तक्मा बाँडने अधिकार सायद उनलाई छैन। भए पनि, घुमाउरो तरिकाले राष्ट्रपतिमार्फत् बाँडन पाउँछन् होला। देशमा चलेको नयाँ राजनीतिक व्यवस्था अनुसार, मान–पदवी र तक्माको हैसियत घटेको छ। राजाको पालामा जस्तो यसले कुनै आर्थिक महत्व राख्दैन। तक्मा पाएको खुसियालीमा भोज खाएर, खुवाएर आनन्द लिने हो। मानका खातिर मान!
प्रम ओलीको प्रशंसनीय आत्मविश्वासको अर्को कारण पनि छ जुन अलिकति गह्रुँगो छ। प्रम ओली लामो समयदेखि बिरामी छन्। उनी बितेको १२ वर्षदेखि आफनो शरीरमा अर्काको जीवित शरीरबाट निकालिएको मिर्गौला जडेर बाँचेका छन्। यसरी बाँच्नुका आफ्नै पीडा हुन्छन्। कहिलेकाहीँ आफ्नै रोगको तरानामा मानिस कवि हरिभक्त कटुवालको कविता ‘यो जिन्दगी खै के जिन्दगी’ गुनगुनाउन पनि थाल्छ।
प्रम ओलीले मिर्गौला फेरेको भोलिपल्टदेखि नै आफूलाई ‘सुपरम्यान’का रुपमा प्रस्तुत गरेका हुन्। अस्पतालबाट डिस्चार्ज भएका बेला लड्खडाउँदै हिँड्नु सुपरम्यानसीपको प्रदर्शन हो। उनले व्हीलचेयर नचढेर ठूलै पुरुषार्थ गरेको ठहर्याउने मानिसको कमी भएन। यसबारे कुरा गर्दा अलिकति विचार पुर्याउनु आवश्यक छ।
उनमा आफू लामो समय बाँच्छु भन्ने आत्मविश्वास छ। यसका दुइ पक्ष छन्। हिन्दू मान्यताअनुसार, जीवन अनित्य हो, मृत्यु यथार्थ हो। अमिताभ बच्चन र राजेश खन्नाको सुपरहिट सिनेमा ‘आनन्द’ मा हास्यकलाकार जोनी वाकरले मर्मस्पर्शी संवाद बोल्छ-‘जहाँपनाह जिन्दगी और मौत उपरवालेके हातमें है। हम सब तो उनके हातोंके कठपुतलियाँ है।’
तर, प्रम ओलीलाई काठमाडौंको सोल्टी होटलमा आयोजित इशाइहरूको एक धार्मिक अनुष्ठानमा कोरियन इशाइले धर्मगुरुको वीर्य मिसिएको ‘होली वाइन’ को सेवन गराएर करोडको पुरस्कारसमेत दिएको समाचार जस–जसले पढेका छन् तिनमा त चेतना आयो नै होला।
जे होस्, प्रम ओलीको प्रशंसनीय आत्मविश्वासको अर्को कारण पनि छ जुन अलिकति गह्रुँगो छ। प्रम ओली लामो समयदेखि बिरामी छन्। उनी बितेको १२ वर्षदेखि आफनो शरीरमा अर्काको जीवित शरीरबाट निकालिएको मिर्गौला जडेर बाँचेका छन्। यसरी बाँच्नुका आफ्नै पीडा हुन्छन्। कहिलेकाहीँ आफ्नै रोगको तरानामा मानिस कवि हरिभक्त कटुवालको कविता ‘यो जिन्दगी खै के जिन्दगी’ गुनगुनाउन पनि थाल्छ।
उसो त प्रम ओली भाग्यमानी हुन्। उनले दुई पटकसम्म आफ्ना लागि सजिलैसँग आफन्तहरुको मिर्गौला जुटाएका छन्। उनका लागि तेस्रो पटक पनि मिर्गौला जुट्न सक्दछ। उनले मिर्गौला दाता आफन्तको अभाव बेहोर्नु नपर्ला। मिर्गौला बिजनेसमा लागेका मानिसका अनुसार बजारमा अहिले बिरामीको अवस्था हेरेर मिर्गौलाको मूल्य ६० लाखदेखि १ करोडसम्म पर्छ। प्रम ओलीले आफन्तहरुको मिर्गौला प्रयोग गर्न पाएका छन् भने यसमा मूल्यभन्दा पनि सौहाद्र्रताको कुरा छ। अलिकति चर्कै मूल्य परे पनि घीउ आखिर पोखिएको त दालमा नै हो!
अब कुरा आयो कोरोना भाइरसको। प्रम ओली र भारतका प्रम मोदीबीच पहिलो चरणको ट्वीटपछि सार्क राष्ट्रका सारा प्रमुखहरू कोरोना रोक्न तयार भए। भारतका प्रधानमन्त्रीले एक करोड डलर हालेर कोष खडा गरे कोरोनाविरुद्ध। तर दक्षिण एसियामा कोरोना देखिएको छैन। देखिए पनि फाटफुट छ।
पशुपतिनाथको देश नेपालमा कोरोना भाइरस देखिने कुरै भएन। कोरोना पसेकै भए पनि जाँच्ने उपकरण अभाव र अल्पताले त्यसरी पसेको कोरोनाका बारेमा जानकारी आउने कुरै भएन। प्रम ओलीको वाणी आएको छ-कोभिड-१९ सँग लड्न संयुक्त वुद्धि र प्रयत्नले मद्दत गर्नेछ। कोरोना महामारी अहिलेसम्म फैलिएको छैन। दुर्भाग्यवश त्यो फैलियो भने कसैको ‘माइबाप’ कोही हुने छैन।
देशमा कोरोना नपस्दा पनि अलापविलाप सुरु भइसकेको छ। नेपाली सेनाले कोरोना बिरामी राख्न टुँडिखेलमा ‘आइसोलेसन क्याम्प’ खडा गरिसकेको छ। सेनाले महाँकाल मन्दिर अगाडि खडा गरेको मिलिटरी अस्पतालको प्रयोग स्वास्थ्यका लागि नगर्ने हल्ला चलेको छ। सरकारको नालायकी यति बढेको छ कि प्रम ओलीको बलियो आत्मविश्वासको पनि केही लागेको छैन। ‘कोरोना अर नो कोरोना’, देश आइसोलेसन क्याम्पमा परिणत भएको छ। देशका नामूद भनिने वुद्धिजीवीहरू कोरोना चर्चामा लीन छन्।
(आइतबार प्रकाशित हुनुपर्ने ‘देशकाल’ प्राविधिक कारणवश सोमबार प्रकाशित गरिएको छ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।