भियना- अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ। सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ।
सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ। सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन्।
अस्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ। आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ। अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।