काठमाडौं- पोखरामा आउँदो चैत १९ गतेदेखि २३ गतेसम्म हुने भनिएको ‘तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ स्थगित गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन प्रतियोगिता स्थगित गरिएको बताइएको छ।
‘कोरोनाको संक्रमण बढीरहेकाले र अरु देशका सहभागीले पनि खेलका लागि आउन नसक्ने देखाएपछि प्रतियोगिता स्थगित गरिएको हो। परिस्थितिको अनुकुलतालाई हेरेर नयाँ मिति तय गरिनेछ’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
तेक्वान्दोको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था विश्व तेक्वान्दोले पनि वृहत कार्यक्रम र प्रतियोगिताहरु सञ्चालन नगर्न आफू सम्बद्ध राष्ट्रहरुलाई निर्देशन दिएको छ। त्यसैले टोकियो ओलम्पिकका लागि चीनमा हुने तय भएको छनोट प्रतियोगितासमेत स्थगित भएको छ।
यस्तै लेबनानमा हुने तय भएको एसियाली तेक्वान्दो प्रतियोगिताका साथै एसियाली पारा तेक्वान्दो प्रतियोगिताका खेलहरु पनि स्थगित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।