धनगढी–जबर्जस्ती करणी प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक अक्कलबहादुर रावलले प्रहरी प्रमुखको कार्यकक्षमा होली खेलेको तस्बिर सार्वजनिक भएको छ।
रावलले जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षकको कार्यकक्षमा होली खेलेको तस्बिरमा देखिन्छ। नेकपाकी नेतृ गिता सोडारीले रावलसंग होली खेलेको तस्बिर आफनो फेसबुकमा राखेकी छिन्।
रावलविरुद्ध धनगढी उपमहानगरपालिका ४ की २५ वर्षीया विवाहित महिलाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमति पाएकोमा फागुन २१ गते पक्राउ गरेको थियो।
रावललाई जिल्ला अदालत कैलालीले सुरुमा चार दिन थुनामा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। रावलमाथि जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ। उक्त मुद्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।