काठमाडौं- नेपाली बजारमा जापानी ब्रान्ड माज्दाको गाडी बिक्री गर्दै आएको पद्मश्री प्रालीबाट खोसिएको छ। माज्दा जापानको नाममा नेपालका लागि आधिकारिक बिक्रेता माग गर्दै बुधबार सूचना प्रकाशित भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी रोहिणी थपलियासँग रहेको कम्पनीको आधिकारिक बिक्रेता माज्दा जापानले खोसेको हो।
विगत लामो समयदेखि माज्दा बिक्री गर्दै आएको रोहिणी थपलियाको पद्मश्री प्रालिबाट आधिकारिक बिक्रेता खोसिनुलाई व्यवसायिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ। यसबारेमा पद्मश्रीमा जिज्ञासा राख्दा ठोस जवाफ दिइएन।
पद्मश्री प्रालिका शुभाषिश थपलियाले आफू बाहिर रहेको र यस बारेमा जानकारी नभएको बताए। ‘म अहिले बाहिर छु। यस बारेमा जानकारी पाएको छैन,’ उनले नेपाल लाइभसँग भने, ‘बुझेर यसबारेमा थप कुरा गर्न सक्छु।’
पछिल्लो समय नेपाली बजारमा सवारी बिक्रेताहरुको डिलर खोसिने क्रम तीब्र भएको छ। सवारी व्यवसायमा राम्रो नाफा हुने भएकाले व्यवसायिक घरानाहरु ब्रान्डेड सवारी ब्रान्ड हत्याउन लागि रहेका छन्।
पद्मश्रीले २०७४ को चैतदेखि २०७५ को पुससम्मको १० महिनामा ७ वटा गाडी नेपाल भित्र्याएको थियो। तर त्यसको ठीक अर्को वर्ष अर्थात् २०७५ को चैतदेखि २०७६ को पुससम्मको १० महिनाम जम्मा एउटा गाडी नेपाल भित्र्याइएको तथ्यांक भन्सारसँग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।