काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अनपेक्षित रुपमा अघि सारेका व्यक्ति हुन्– कृष्णप्रसाद सिटौला। कोइरालाले जीवनको उत्तरार्धमा जसलाई सबैभन्दा बढी विश्वास गरे, ती सिटौला हुन्।
तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले सिटौलालाई अघि सारे। मन्त्रिपरिषद्मा महत्त्वपूर्ण जिम्मेवारी दिए। शान्ति प्रक्रियाका प्रारम्भिक वर्षमा सिटौला गृहमन्त्री बने। मन्त्रिमण्डलमा राख्ने व्यक्तिका नाममा समेत कोइरालाले सिटौलाको राय बुझ्थे।
कोइराला परिवारसँगको निकटता सुशील कोइरालाको नेतृत्व कालसम्म जारी रह्यो।
१३औं महाधिवेशनको संघारमा सुशीलको मृत्यु भयो। शेरबहादुर देउवा र रामचन्द्र पौडेलले दुई समूहको नेतृत्व गरे। देउवाको आफ्नो समूह थियो। कोइराला परिवारका अन्य नेताको समेत नेतृत्व गरेका पौडेलले सिटौलालाई महत्त्व दिएनन्। गिरिजाप्रसाद कोइरालाले दिएको स्थान र महत्त्व नपाउने देखेसँगै उनी पौडेलसँग टाढिए।
तेस्रो धारको नेतृत्व
गिरिजाकालीन स्थान खोजेका सिटौलाले सोही अनुरुपको भूमिका नपाउने देखेपछि पार्टीमा तेश्रो धार निर्माण गरे। वैचारिक समूहको नाममा आफ्नो समूहलाई परिभाषित गरे। यस अर्थमा, तेस्रो धार निर्माण गर्नु सिटौलाका निम्ति बाध्यात्मक परिस्थिति थियो।
गत महाधिवेशनमा उनी देउवा र पौडेलसँगै चुनावी प्रतिस्पर्धामा उत्रिए। तेस्रा भए। कसैले पनि ५१ प्रतिशत मत नपाएपछि भएको दोस्रो चरणको मतदानमा देउवालाई सघाए।
महाधिवेशनमा उनले आफ्नो तर्फबाट युवा नेता गगन थापालाई महामन्त्रीमा अघि सारेका थिए। कोषाध्यक्षमा उमाकान्त उम्मदवार बने।
तेस्रो धारबाट उम्मेदवारी दिएका सबै पराजित भए।
समदूरीमा सम्बन्ध
देउवासँग महाधिवेशनमा सहकार्य गरेका सिटौलाले त्यस लगत्तै भ्रातृ संस्थामा समेत गठबन्धन बनाए। नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा भागबण्डा गरी पदाधिकारीमा आफ्नो पक्षलाई स्थान दिलाए।
२०७४ सालमा सम्पन्न चुनावमा कांग्रेसले हार बेहोरेपछि भने सिटौलाले देउवा पक्षसँग भ्रातृ र शुभेच्छुक संस्थामा सहकार्यको क्रम टुंग्याएका थिए। नेपाल शिक्षक संघ, कर्मचारी संघ, इन्जिनियर लगायतको अधिवेशनमा सिटौला पक्षले पौडेल पक्षसँग गठबन्धन गरेको थियो।
आफ्नो समूहको अस्तित्व प्रभावकारी देखाउन सिटौलाले जीपी फाउण्डेशनलाई माध्यम बनाउँदै आएका छन्। आफू निकटका युवाहरु सम्मिलित संस्थाले सिटौलाकै रुचि अनुसार कार्य गर्दै आएको छ। त्यसै संस्था मार्फत १४ औं महाधिवेशनमा आफू पनि पुनः सभापतिको उम्मेदवार बन्ने संकेत समेत उनी दिने गर्छन्।
सिटौलाका बलियो खम्बा रहेका नेता थापा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल छन्। तेश्रो धारको वकालत गर्ने गरी जिल्लाका कार्यक्रममा सहभागी थापा र पौडेलले उनलाई साथ दिएका छन्। केही दिन अघि नेता डा शेखर कोइरालाको महाधिवेशन केन्द्रित जिल्ला दौडमा नेता थापाले प्रदेश ५ का जिल्लाहरु चहारे। पौडेलले महाराजगन्जस्थित सम्पर्क कार्यालयमा भेटघाटलाई तिव्रता दिएका छन्।
पौडेल पक्षसँग सहकार्य गर्दै आएको सिटौला पक्ष पछिल्लो समय भागबण्डाको लागि संस्थापन पक्षसँगै अघि बढेको छ। विभाग भागबण्डामा सिटौलाले सहमति जनाएसँगै संस्थापनइतरकै दुई समूहको दुरी बढेको छ।
आफ्नाको व्यवस्थापन
शिवप्रसाद हुमागाईँलाई श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुख बनाएका देउवाले सिटौलाका जिल्लाबासी सुधीरकुमार शिवाकोटीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका छन्। फागुन १९ मा देउवाले मनोनयन गरेका जेष्ठ राजनीतिज्ञ सभामा सिटौलाका दाजु डिल्लीप्रसाद सिटौला समेत परेका छन्।
हुमागाईं पूर्व सभापति गिरिजाप्रसाद निकट थिए। कोइरालासँगको निकट भएकै कारण हुमागाईं सिटौलासँग आकर्षित भएका थिए। हुमागाईँले १३ औं महाधिवेशनमा सिटौलाको उम्मेदवार घोषणादेखि नै सक्रिय सहयोग गरेका थिए। महाधिवेशनमा दोश्रो चरणको मतदानअघि आफ्नो पक्षका केन्द्रीय सदस्यमा मनोनयन गर्ने नाममा सिटौलाले हुमागाईँको नाम लिएका थिए। सिटौलाको बचन अनुरुप नै सभापति देउवाले हुमागाईँलाई केन्द्रीय सदस्यमा मनोनित गरिदिए। हुमागाईंलाई केन्द्रीय सदस्य नबनाउँदा आफ्नो शक्तिमा थप ह्रास आउने सिटौलाको बुझाइ थियो।
त्यसो त झापाका सुधीरकुमार शिवाकोटीलाई पनि केन्द्रीय सदस्य बनाउने सिटौलाले प्रतिवद्धता जनाएका थिए। शिवाकोटीप्रति बढी विश्वास भएर नै सिटौलाले पहिलो चरणमा हुमागाईँलाई अघि बढाए। संख्यात्मक रुपमा कमजोर रहेका सिटौलाले आफ्नै समूहमा हुमागाईँलाई राख्न प्रयत्न गरिरहेका छन्।
हुमागाईं पछिल्लो समय संस्थापनतिर नजिकिएको देउवा पक्षीय नेताहरुको दाबी छ। देउवा पक्षका नेताहरु भेला भएका स्थानमा हुमागाईँ समेत पुग्ने गरेका छन्। देउवा र सिटौलालाई समदूरीमा रहेकैले पनि उनले श्रमिक तथा ट्रेड युनियन विभागको नेतृत्व पाएका हुन्।
विभागको नेतृत्वमा सांसद नभएकालाई मात्रै स्थान दिने गरी देउवाले प्रावधान बनाएका छन्। उक्त विभागमा सिटौला निकटकै नेता प्रदीप पौडेललाई प्रस्ताव गरिएको थियो। उनले विभागमा बस्न रुची नदेखाएपछि हुमागाईँले अवसर पाएको बताइन्छ।
देउवा पक्षतिर लागेर महाधिवेशनमा केन्द्रित हुनुपर्ने ध्याउन्नमा अन्य नेता समेत छन्। उमाकान्त चौधरी पनि पछिल्लो समय देउवा निकटका नेताहरुको भेलामा सहभागी हुने गरेका छन्। विजय गच्छदारको फोरम लोकतान्त्रिकको कांग्रेसमा विलय पश्चात् चौधरी संस्थापनतिर झुकाव बढाएका थिए।
पौडेल पक्षसँग सहकार्य गर्न नहुने पक्षमा काठमाडौं ६ का बाट विजयी भीमसेनदास प्रधान समेत छन्। नेता प्रकाशमान सिंह र प्रधानविच सम्वन्ध समधुर नरहेकै कारण यी दुई एक स्थानमा उभिन नसक्ने बुझाई छ। सिंहसँग रहेको समूहमा प्रधान अट्न नसक्ने बुझाई कांग्रेसमा छ। पौडेलपक्षसँग सहकार्यबाट टाढा राख्न प्रधानको समेत भूमिका रहेको बताइन्छ।
प्रश्नको घेरामा
संस्थापनपक्षले एक पछि अर्को गरी विभागका प्रमुखहरु तोकिरहँदा वरिष्ठ नेता पौडेल पक्ष उक्त निर्णयको विपक्षमा खरो उत्रेको छ। विधान र पद्धतिको अझ बढी वकालत गर्ने तेश्रो धारका नेताहरुले हिस्सेदारी खोज्दै रमाउन थालेपछि सिटौलामाथि प्रश्न तेर्सिएको छ।
नियमित कार्यकाल सकिएका देउवाले विधान विपरित विभाग गठन गर्न नहुने पक्षमा उक्त समूहका केही नेता थिए। मूलतः दुई युवा नेता गगन थापा र प्रदीप पौडेल विभाग गठन गर्न नहुने र गठन भए भागबण्डामा जान नहुने पक्षमा थिए। तर, विभाग गठन गर्न देउवालाई अवरोध गर्दा निर्धारित मितिमा महाधिवेशन नहुने आशंकाले विभागमा सहमति जनाएको सिटौला पक्षका एक नेताले बताए। महाधिवेशन नै नहुने दिशातिर देउवा अग्रसर हुने डरले बाध्यात्मक परिस्थितिमा समर्थन जनाएको भन्दै आफ्नो समूहको बचाउ गरे।
सिटौला निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘विभाग गठन गर्न नदिएको भनी देउवाले फेरि महाधिवेशन सार्ने सम्भावना छ। महाधिवेशन अझै धकलिन सक्ने परिस्थितिले बाध्यतावशः सहमति जनाइएको हो।’
पार्टीलाई बढी क्षति हुनबाट बचाउन देउवालाई साथ दिएको सिटौला पक्षको प्रष्टोक्ति छ।
जनआधार बनाएका दुई युवा नेता थापा र पौडेल संस्थापन पक्षसँग महाधिवेशनमा सहकार्य गर्नै नहुने पक्षमा छन्। तर, हुमागाईँ, चौधरी र प्रधान संस्थापन पक्षसँगै सहकार्य गर्ने पक्षमा छन्। केन्द्रीय समितिमा सिटौलाको पक्षमा थापा, पौडेल, हुमागाईँ र पछिल्लो समय थपिएका आमन्त्रित केन्द्रीय सदस्य शिवाकोटी छन्। झापा, कालिकोट, उदयपुर, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायतका जिल्ला सभापतिहरु सिटौला निकट छन्। भ्रातृ र शुभेच्छुक संस्थामा ट्रेड युनियन अध्यक्ष पुष्कर आचार्य, तरुण दलमा उत्तम चापागाईँ, सांस्कृतिक संघका महामन्त्री रोशन केसी सिटौला निकट छन्। कर्मचारी संघका गोपाल पोखरेल र डमोक्रेटिक लयर्स एसोसिएनका अध्यक्ष योगेन्द्र अधिकारी पनि उनकै पक्षमा छन्।
कता ढल्केलान्?
वरिष्ठ नेता पौडेलले आफ्नो अवमूल्यन गरेको सिटौलाको ठहर छ। सभापतिमा फेरि पनि पौडेल नै उठे उनलाई सिटौलाले नस्विकार्ने उनी निकटकै नेताहरु ठोकुवा गर्छन्। कोइराला परिवारप्रति उनको सहानूभूति पनि रहेकाले कोइराला परिवारबाट सभापतिको प्रत्यासी बने सिटौला सभापतिमा नलड्ने बुझाइ उनीहरुको छ।
कोइराला परिवारबाट डा शेखर कोइराला सभापतिको प्रत्यासी बने सिटौलाले पदाधिकारीमा हिस्सा खोजेर सहकार्य गर्न सक्ने विश्लेषण पनि हुने गरेको छ।
अर्कोतिर, पार्टी भित्रैबाट र पब्लिक इमेज गुमाएका देउवासँग सहकार्य गर्नै नहुने दबाब युवा नेताहरुको छ। सिटौलाको मुख्य भरोसा भनेकै नेता थापा र पौडेल रहेकाले उनीहरुको दबाबभन्दा बाहिर जान सक्ने परिस्थिति सिटौलामा छैन। देउवासँग सहकार्य गर्दा आफ्नो धारको वैचारिक अवस्थिति समेत स्खलित हुने भएकाले सिटौला त्यसबाटमा नजाने उनी पक्षीय नेता बताउँछन्।
पौडेलले नेतृत्व गरिरहेको समूहको महाधिवेशन रणनीति कस्तो रहन्छ, सिटौलाको रणनीति पनि त्यसकै निर्भर हुने देखिन्छ।
आफैं अघि सरे के हुन्छ?
सांगठनिक रुपमा कमजोर रहेको सिटौला समूहलाई आफ्नो धारलाई बचाउनुपर्ने बाध्यता छ। समूहको मूली सिटौलालाई १३औं महाधिवेशनपछि बनेको धारलाई जोडिराख्ने 'ग्लू'को पहिचान र प्रयोग गर्नु आवश्यक छ। उनको धार पदका लागि हो कि विचारका लागि? त्यसको जवाफ समेत सिटौलाले दिनुपर्ने १४ औं महाधिवेशनबाट नै हो।
सिटौलालाई सभापतिमा समर्थन गर्न कांग्रेसका अर्का दुई शक्ति तयार छैनन्। फेरि पनि हार्ने गरी सभापतिमा प्रत्यासी बन्ने कि अर्को गुटसँग सहकार्य गर्ने? सिटौलाका सामू दुई विकल्प छन्। दुवै विकल्प उनका लागि कठिन छ।
आफैं सभापतिमा उठ्दा हारको श्रृंखला बढ्न सक्छ। भागबण्डामा भुल्दा नैतिक धरातल गुम्न सक्छ।
सिटौला पक्षका एक नेता भन्छन्, ‘आफ्नो अवमुल्यन हुनेगरी सिटौला भागवन्डामा अल्झिनुहुन्न। हार नै किन नहोस्, फेरि पनि उम्मेदवार बन्नुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।