पर्सा- पर्सा जिल्लाको वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट एपीएफ टोलीले बरामद गरेको चाँदीको तयारी गहना फागुन २५ गते भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ।
उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपिएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त गहना बेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो।
बरामद चाँदीको गहना पाँउजु रहेको छ। तयारी पाँउजु तौल गर्दा करीब ३ किलो रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायनबाहेक शुद्ध चाँदी १ के.जी. ७ सय ८६ ग्राम रहेको छ।
उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।