सांकेतिक तस्बिर
काठमाडाैं- पश्चिमी वायुको प्रभावले शनिबार उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताइन्।
'प्रि मनसुनको समय भएकाले पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ', उनले भनिन्। वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुने बताइएको छ। यस प्रणालीको प्रभाव आज बेलुकासम्म मात्र कायम रहने र भोलिबाट मौसम क्रमशः सुधार हुँदै जाने मौसमविद्को भनाइ छ। हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ।
उपत्यकामा बिहानै वर्षा भएकाे थियाे। आइतबार पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको औँल्याइएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको तथा यसका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ। त्यस्तै सबैभन्दा धेरै नेपालगञ्जमा ९५ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ।
चट्याङ लागेर एकको मृत्यु
मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ। जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ। सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।