काठमाडौं- हवाई युनिभर्सिटिमा पिएचडी गर्दा पाँच वर्ष काम गर्ने सर्त पूरा नहुँदै डिआजी राजीव सुब्बाले राजीनामा दिएको खुलेको छ। प्रधान कार्यालय स्रोतका अनुसार सुब्बाले हवाई युनिभर्सिटीमा पिएचडी गर्दा पिएचडीपछि पाँच वर्ष जागिर छोड्न नपाउने सर्त स्वीकार गरेका थिए।
संगठनबाट पाउने सुविधाको उपयोग गर्दै क्षमता बढाउने र अर्को अवसर पाए लगत्तै राजीनामा दिनेक्रम बढेपछि यस्तो सम्झौता सुरु भएको थियो।
सर्त अनुसार उनले प्रहरीमा थप १ वर्ष काम गर्नुपर्ने समय बाँकी नै छ। तर, उनले सर्त विपरीत व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्। प्रधान कार्यालयले उनको राजीनामा अगाडि बढाएको भने छैन। कि सर्त अनुसार १ वर्ष थप काम गर्नुपर्ने वा एक वर्षको सेवा सुविधा बापतको रकम फिर्ता गर्नुपर्ने भएकाले राजीनामा प्रक्रिया अगाडि नबढेको स्रोतले बतायो।
सुब्बा प्रहरीमा प्रविधि मैत्री सदस्यका रुपमा परिचित छन्। उनले प्राकृतिक विपत्तिमा सामाजिक सञ्जालको प्रयोग विषयमा पिएचडी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।