स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्याङ्जाबाट जग्गाको पुनः नापी सुरु गरेको छ। मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने कार्य स्याङ्जास्थित वालिङबाट शुक्रबार शुभारम्भ गरिन्।
विशेष नापीले नागरिकहरुलाई राहत दिने मन्त्री अर्यालले बताइन्। ‘पुनः नापनक्सा हामीले ल्यायौं।जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ।उहाँहरुले राहत पाउनुहुनेछ,’,मन्त्री अर्यालले भनिन्,‘हिजो अनुमानका आधारमा फिताले नाप्दा हाल धेरै समस्या देखिए।विगतका कार्यबाट उत्पन्न समस्या समाधान गर्ने गरि पुनः नापी सुरु गरिएको छ।’
पुनः नापनक्साका लागि डिजिटल प्रविधि प्रयोग गरिने बताइएको छ। ‘टोटल स्टेशन’ भनिने प्रविधिमार्फत् जग्गाको नाप जाँच गरिने भएको छ। स्याटेलाइट इमेज र टोटल स्टेसनमार्फत् वास्तविक नक्सा छुट्याउन सकिने मन्त्री अर्यालको भनाइ छ। पृथ्वीको सुक्ष्म अध्ययन गर्ने लाइडर सिस्टम पहिलोपटक यस वर्षदेखि सुरु गर्ने योजनामा मन्त्रालय रहेको उनले जानकारी दिइन्।
प्रविधिको उच्चतम प्रयोग जग्गाजमिनको नापनक्सामा समेत प्रयोग गर्न लागेकाले नापनक्सासम्बन्धी समस्या भविष्यमा नहुने ठोकुवा गरिन्। प्रविधि प्रयोग गर्ने तथा सिक्ने क्रममा विगतमा समस्या उत्पन्न भएपनि कर्मचारीको क्षमता वृद्धि भएकाले समस्या नदोहोरिने वचन दिँदै उनले भनिन्,‘जनताको सम्पत्ति भूमि हो त्यो हाम्रो कार्यालयमा छ । त्यसको संरक्षण डिजिटल रुपमा गर्नुपर्छ। सरकार त्यही अभियानमा लागेका छ।’
टोटल स्टेशन (टिएस) मेशिनमार्फत हुने जग्गा नापीमार्फत जग्गाको डिटेल कोअर्डिनेट तत्कालै दिनसकिने बताइएको छ।
यसले करिब ५ देखि ८ किलोमिटर दुरीसम्मको रिडिङ गर्न सक्ने विशेष नापी कार्यालय पाल्पाका निमित्त नापी अधिकृत सोमप्रसाद गौतमले जानकारी दिए।
आवश्यक कर्मचारीको पदपुर्ति भए ६ वर्षभित्र सबै जिल्लाको नापी सक्ने बताइएको छ। स्याङ्जा जिल्लाभरको जग्गाको पुनः नापीको संयोजन भने नापी कार्यालय पाल्पाले गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।