काठमाडौं-नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालाई भेटेका छन्।
राजदूत क्वात्राले देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर भेटेका हुन्। त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनालाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेका हुन्। नेपालका लागि राजदूत भएर आएलगत्तै क्वात्रा लगातार भेटघाटमा व्यस्त छन्। अध्यक्ष तिमल्सिनासँगको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। नेपाल र भारतबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएकाले आगामी दिन झन सुमधुर हुने अध्यक्ष तिमल्सिनाले बताए।
त्यसैगरी राजदूत क्वात्राले नेपाल र भारतको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताए। उनले दुई देशबीच भएका उच्चस्तरीय भ्रमणले नेपाल र भारत छिमेकीमात्र नभई समृद्धिका साझेदार भएको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।