काठमाडौं–विशेष अदालतले नेपाल विद्युत प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठलाई पदको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सफाइ दिने फैसला सुनाएको छ।
विशेषले बिहीबार श्रेष्ठसँग अख्तियारले दाबी गरे झैं अवैधानिक आर्जनको अकुत सम्पत्ति नदेखिएको भन्दै सफाइ दिने फैसला सुनाएको हो।
अख्तियारले श्रेष्ठसहित चार जनाविरुद्ध २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले २०७४ भदौ २६ गते आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानुनीरुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको दाबीसहित मुद्दा दायर गरेको थियो।
विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलाशले सफाइ दिएको हो।
प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियर पदमा २०३६ चैत ५ गते नियुक्ति भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरेको सम्पत्ति विवरण अमिल्दो रहेको अख्तियारको दाबी थियो।
श्रेष्ठले आफ्नो तथा परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्बन्धका तथ्य प्रमाणहरुलाई छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा कम भएको दाबी अख्तियारल गरेको थियो। तर विशेषले उनको आयको तुलनामा सम्पत्ति अवैध नदेखिएको भन्दै सफाइ दिएको हो।
भ्रष्टाचार गरी गैरकानुनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु श्रेष्ठ र उनकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियतपूर्ण रुपमा राखेको तथा लुकाए छिपाएको पुष्टि हुन आएकाले जफत गर्नुपर्ने मागदाबी अख्तियारको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।