काठमाडौं- एक वर्षदेखि कतारमा जेलजीवन बिताइरहेका सिन्धुली साविक कपिलाकोट गाविस वडा नम्बर ४ हाल मरिण गाउँपालिका- २ का कमल थिङ्ग कतारको जेलबाट छुट्ने भएका छन्।
हत्या आरोपित थिङ्ग कैद भुक्तान अवधि सकिए पनि ब्लडमनी तिर्न नसक्दा १ वर्षदेखि जेलमै थिए।
आवश्यक ब्लडमनी रकम संकलन भइसकेको र मृतकका परिवारलाई सो रकम दिएर परराष्ट्रमन्त्रालयमार्फत कतारस्थित अदालतमा सबै विवरणसहितको पत्राचार गरेपछि थिङ्ग जेलमुक्त हुने वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए।
वैदेशिक रोजगार उद्धार नेपालले नै कमल थिङ्ग बचाउ अभियान सुरु गरी वितग ६ महिनादेखि ब्लडमनी रकम संकलन कार्यक्रम सञ्चालन गरेको थियो।
कतारस्थित एक कन्स्ट्रक्सन कम्पनीमा कार्यरत थिङ्ग आफूसँगै काम गर्ने साथीसँग जिस्कने क्रममा उनका साथी खाल्डोमा खसेको र अस्पताल पुर्याएपछि ज्यान गएको निज थिङ्गले अदालतको बयानमा भनेका छन्।
थिङ्गले धकेल्दा धनुसा घोडाघोडीका शिवरतन राउत खाल्डोमा खसेर गम्भीर घाइते भएका थिए। घाइते राउतलाई थिङ्गले नै अस्पताल पुर्याए । गम्भीर अवस्थाका शिवरतनलाई कसरी यस्तो भयो भनेर सोधिएको प्रश्नमा शिवरतनले कमल थिङ्गको नाम लिएर अन्तिम श्वास फेरेका थिए।
सो घटनापछि कतारस्थित अदालतले थिङ्गलाई दोषी ठहर गरी ६ महिना कैद र २ लाख कतारी रियाल (करिब ६० लाख नेपाली रुपैयाँ) जरिवाना सुनाएको थियो।
वैदेशिक रोजगार उद्धार नेपालले मृतक शिवरतन राउतको परिवारसँग समन्वय गरेपछि मृतकका परिवारले ५० लाख माफी दिई १० लाख ब्लडमनीमा सहमति जनाएको छ।
केही दिनमै परिवारलाई सो रकम बुझाई परराष्ट्र मन्त्रालयमार्फत कतार अदालतमा विवरणसहितको पत्र पुर्याएपछि कमल जेल मुक्त हुने वैदेशिक रोजगार उद्धार नेपालले जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।