गत असोज ६ गतेदेखि चिकित्सकहरुले नियमित तर्फको स्वास्थ्य सेवा बन्द गरेपछि नागरिकको स्वास्थ्यको अधिकार हनन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आज आयोगकले एक विज्ञप्ती जारी गर्दै आम नागरिकको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बनी स्वास्थ्य सेवा तत्काल सुरु गर्न आग्रह गरेको छ।
चिकित्सकहरुको बन्दका कारण आम नागरिकको स्वास्थ्यसम्बन्धी आधारभूत अधिकार कुन्ठित हुन गएको विज्ञप्तीमा उल्लेख छ।
‘स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौं मानिसको जीवन जोखिममा पर्नसक्ने तर्फ सचेत हुँदै स्वास्थ्यजस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राखी कार्य गर्न सबै चिकित्सकहरुलाई आयोग आग्रह गर्दछ’, विज्ञप्तीमा भनिएको छ।
उसले स्वास्थ्य क्षेत्रमा देखिएको अन्योल र अस्पष्टतालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न नेपाल चिकित्सक संघ र सरकारलाई आग्रह पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।