काठमाडौ- विशेष अदालतले उक्त प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा लागेका भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङको परिवारको नाममा १५ दिने म्याद जारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरो कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको छ।
गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
८ जनालाई बेचेका थिए मिनबहादुरले जग्गा
अख्तियारका अनुसार गुरुङले बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेका थिए। जग्गा खरिद गरेका व्यक्तिहरु अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान दिएका छन्।
अख्तियारलाई दिएको बयानमा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन्। उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषदको निर्णयबाट सट्टा भर्नाबाट आएको पनि बयानमा उल्लेख गरेका छन्।
बालुवाटार जग्गा किनबेचमा मुछिएका पहलमान गुरुङ मिनबहादुरका भाइ हुन्। उनकी श्रीमती सरला पनि यो मुद्दामा फसेकी छन्। सरलाले बैकुण्ठ शर्मा रेग्मीबाट जग्गा किनेको भए पनि कति रकममा किनेको हो थाहा नभएको बयान अख्तियारसमक्ष दिएकी छन्।
सर्वोच्चले बयानका क्रममा जग्गा फिर्ता गर्न राजी भएकाले नेकपा महासचिवपुत्र नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीमाथि मुद्दा चलाउनु नपर्ने जनाएको थियो। तर‚ न्यायाधीश रेग्मी र भाटभटेनीका सञ्चालक गुरुङ मिलेर ओमवीरमान ताम्राकारलाई जग्गा बेचेका थिए।
’मेरो नाममा बालुवाटारमा कित्ता नं ४७५, ४६९, ४९०, ४८३ जग्गा रहेको छ। ती जग्गाहरु मिनबहादुर गुरुङ, कुमार रेग्मी, चमेली श्रेष्ठ र अगम ढुंगानाबाट डोरबाट कान्तिपथमा बसी २०६४ साउन ६ गते जम्मा जग्गा ६ आना २ पैसामात्र २८ लाख ९९ हजार ५६ मा लिएको हो। उक्त जग्गाहरु सरकारी हुन् भनेर जानकारी थिएन,’ उनले बयानमा भनेका थिए।
अख्तियारका पूर्व प्रमुख बस्न्यात, एनआरएनसहित ७४ प्रतिवादीविरुद्ध हदम्याद जारी
विशेषले अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यात, गैरआवासीय नेपाली संघसहित ७४ जना प्रतिवादीविरुद्ध अदालत उपस्थित हुन म्याद जारी गरेको छ।
जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङका परिवार, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्यलगायतको नाममा म्याद जारी भएको विशेष अदालतका सह प्रवक्ता इन्द्रकुमार खड्काले बताए।
अख्तियारले माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १ सय १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। अझै ३६ जनाको म्याद पठाउनका लागि उजुरी कार्य चलिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।