काठमाडौ–मिस वर्ल्ड टोनी एन सिंहले सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु घुमेपछि नेपाल असाध्यै राम्रो र आश्चर्यजनक भएको टिप्पणी गरेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्दै उनले श्रेष्ठको कामको प्रशंसा गरिन्।
‘मेरी बहिनीले धेरै राम्रो काम गर्नु भएको छ, यो अचम्मैलाग्दो काम हो, मलाई धेरै खुसी लागेको छ,’ उनले आफ्नो विश्व भ्रमणमध्ये नेपालको यात्रा आश्चर्यजनक हुने पनि बताइन्।
टोनीले भ्रमणका क्रममा स्थानीय खानाका साथै हिमाली चिया र अन्य नेपाली खाना पनि चाखेकी थिइन्। हिमाली शेर्पा र लामाहरुले गरेको स्वागतप्रति पनि उनले खुसी व्यक्त गरिन्। टोनी नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित शुक्रबार बिहानै हेलम्वु पुगेकी थिइन्।
हेलिकप्टरमार्फत बिहान इचोक गाउँ ओलिएकी टोनीले त्यहाँ निर्माणाधीन ‘ग्रेट टेल’को अवलोकनसमेत गरिन्। मिस वर्ल्ड सहितका पाहुनालाई स्थानीय हेल्मो समूदायले भव्य स्वागत गरेका थिए। उनले स्थानीयलाई नमस्तेको अभिवादन गरिन्। बालबालिकालाई गाला सुम्सुम्याउँदै हात मिलाउँदा स्थानीयले जोडादर तालिको स्वागत गरे। मिस नेपाल अनुष्काले सञ्चालन गरेको परियोजनाबारे जानकारी दिने कार्यक्रममा झण्डै एक घण्टा सहभागिता जनाएर उनी आजै काठमाडौं फर्किने छन्।
मिस वर्ल्ड टोनी बिहीबार नेपाल आएकी थिइन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनीसँगै मिस वर्ल्डको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डग्लस पनि नेपाल आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।