राजविराज– गृह मन्त्रालयले सप्तरीकाे राजविराजमा आयोजना गर्ने भनिएको कार्यक्रम कारोना भाइरस (कोभिड–१९)का कारण स्थगित भएको छ। गृह मन्त्रालयको लागु औषध नियन्त्रण शाखाले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ०७६ फागुन १६ पत्राचार गरी कार्यक्रमको बारेमा जानकारी दिएको थियो। सोहि पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सरोकारवालालाई सहभागिताका लागि आमन्त्रित गरेको थियो।
तर, एक दिनअघि उक्त कार्यक्रम स्थगित गरिएको छ। कोरोना भाइरसबाट बच्नका लागि सजगता अपनाउन कार्यक्रम स्थगित गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन कट्टेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी भीडभाड हुने र मान्छेको बाक्लो उपस्थिति हुने सबै कार्यक्रम रोक्न अनुरोध गरेको छ। सभा, सम्मेलन, भोज, भतेरलगायतका कार्यक्रमलाई लक्षित गरी सूचना जारी गरिएको कट्टेलले जानकारी दिए।
१६ ठाउँमा हेल्थ डेस्क
कोरोना भाइरसलाई लक्षित गरी सप्तरीका विभिन्न १६ ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ। स्थानीय तहसँगको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
वलान विहुल गाउँपालिकाको वेल्ही र रामनगरकोदरकट्टि, राजविराज नगरपालिकाको राजविराज एयरपोर्ट, वोदेवरसाईन नगरपालिकाको देउरी, डाकनेश्वरी नगरपालिकाको पातो, गमरीया प्रवाह, तरही, औरही र भुतही, राजगढ गाउँपालिकाको झुटकी र वनैनियाँ, छिन्नमस्ता गाउँपालिकाको सखडा गोविन्दपुर, तिलाठी गाउँपालिकाको भन्सार गेट, हनुनमाननगर कंकालिनी नगरपालिकाको गोवरगाढा र भारदहमा हेल्थ डेस्क स्थापना गरिएको यादवले बताए।
हरेक हेल्थ डेस्कमा २ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिने र दुई सिफ्टमा काम गरिने उनले जानकारी दिए।
कञ्चनरुप नपाले छुट्यायो १० लाख
कञ्चनरुप नगरपालिकाकाले कोरोना भारसको खतरा तथा यसबाट बच्ने उपायका बारेमा जनचेतना जगाउन १० लाख रुपैयाँ छुट्याएको छ। बुधबार बसेको कार्यपालिकाको बैठकले यो रकम विनियोजन गरेको स्वास्थ्य संयोजक डम्बर गुप्ताले जानकारी दिए।
मास्कलगायतका आवश्यक सामग्री खरिदका लागि यो रकम खर्च गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।