सङ्खुवासभा- सङ्खुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ। नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना र २२० केभी प्रसारण लाइनको कोशी करिडोर विस्तारको क्रममा ११ हजार ८९५ रुख काटिने भएको हो।
डिभिजन वन कार्यालय सङ्खुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले अरुण तेस्रोको २२० केभीअन्तर्गत पावरहाउस र ड्यामसाइटमा पाँच हजार ४१ रुख काटिने जानकारी दिए। कोशी करिडोर २२० केभीअन्तर्गत पर्ने क्षेत्रका २२० र अरुण तेस्रोको ड्यामसाइट जाने ३३ केभी क्षेत्रअन्तर्गत पर्ने एक हजार ९१७ रुख काटिने तयारी भइरहेको छ। यस्तै अरुण तेस्रोको ४०० केभीअन्तर्गत तीन हजार ८४७ रुख काटिने भएको समेत सहायक वन अधिकृत पराजुलीले बताए।
अरुण तेस्रोको २२० केभीअन्तर्गत चिचिला गाउँपालिका–२ पुखुवामा रहेको पावारहाउस गृह र मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बन्ने ड्यामसाइट जाने रुटमा पाँच हजार ४०१ रुख काटिनेसमेत पराजुलीले बताए। आयोजनास्थलभित्रका क्षेत्रमा पर्ने झण्डै ९० प्रतिशत रुख काटिसकिएको समेत सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। त्यसैगरी सुनसरी–धरान–धनकुटा हुँदै सङ्खुवासभा र भोजपुरसम्म जोडिने २२० केभी प्रसारण लाइनको कोशी करिडोरअन्तर्गत ७३० रुखसमेत काटिने भएको छ।
नौ सय मेगावाटको अरुण तेस्रोको पिखुवा हाइड्रोपावरबाट ड्यामसाइट फ्याक्सिन्दा लैजाने ३३ केभी प्रसारण लाइनअन्तर्गत एक हजार ९१७ रुख काटिने भएको छ। अरुण तेस्रो ९०० मेगावाटबाट उत्पादित विद्युत् सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर र सिरहा हँुदै भारत लैजाने ४०० केभी प्रसारण लाइनअन्तर्गत तीन हजार ८४७ रुख काटिने छन् ।
'अरुण तेस्रो प्रसारण लाइनअन्तर्गत निर्माण कम्पनी सतलजले रुख काट्ने अनुमति सम्बन्धित निकायसँग माग गरेसँगै उक्त क्षेत्रमा कटानी हुने रुखको निरीक्षण गर्दा यस किसिमको सङ्ख्याको आँकडा आएको हो। परियोजनास्थलमा आयोजना सञ्चालन गर्न वन मन्त्रालयसँगको पत्राचारपछि रुख काट्ने काम अन्तिम चरणमा पुगिसकेको छ। अन्य प्रसारण लाइनमा पनि रुख काट्ने अनुमतिका लागि मन्त्रालयमा फाइल पठाएका छौँ, काट्ने आदेश आएको छैन', सङ्खुवासभाका सहायक वन अधिकृत पराजुलीले भने।
आयोजनास्थल मात्र नभएर विद्युत् प्रसारण लाइन हुने क्षेत्रमा समेत धेरै रुखहरु काटिने भएको छ। अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ दशमलव १८ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ। वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानूनी प्रावधान रहिआएको समेत पराजुलीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।