नेपालगञ्ज-नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ।
यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो। योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता थापाले जानकारी दिइन्।
योजना २० वर्ष अघिको हो। २०५६ मा शुुरुआत भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन। गत वर्ष पुनः सुरु गरिएको यो योजनालाई आर्थिक वर्ष २०७५/७६ भित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ।
योजनाको पहिलो चरणमा करिब १८ करोड बजेट लाग्ने अनुमान गरिएको छ। डुडुवा गाउँपालिका ४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट ल्याउने गरी योजनाको काम अघि बढाइएको उनले बताइन्। करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ।
यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ । उनका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन् । बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी प्रयोग हुने गरेको जनाइएको छ।
अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ। ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दासमेत पर्याप्त पानी भेटाउन सकिएको छैन। यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ । सोही अवस्थालाई दृष्टिगत गरी राप्ती सो योजना अघि सारिएको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।