प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल भएपछि झ्यालबाट अस्पताल परिसरका शुभेच्छुकहरूको तस्बिर लिँदै शल्यक्रियामा खटिएका चिकित्सक।
काठमाडौं- बुधबार बिहान १० बजे। त्रिवि शिक्षण अस्पतालका ट्रान्सप्लान्ट सर्जन प्राडा प्रेम ज्ञवाली प्रत्यारोपणमा संलग्न १६ जना चिकित्सक, नर्स र प्राविधिक जनशक्ति लिएर शल्यक्रिया कक्षमा प्रवेश गरे।उनी परीक्षा दिन तयार विद्यार्थीझै सचेत अनि हल्का तनावमा देखिन्थे। त्यो कक्षभित्र उनी पहिलो पटक प्रवेश गरेका थिएनन्। धेरै पटक प्रवेश गरेर उत्तीण भएका थिए त्यही कक्षमा परीक्षा दिएर। तर बुधबारको अवस्था अलि भिन्न थियो। त्यो कक्षभित्र उनी र उनको समूहको सिप, कौशल र आत्मविश्वासको पुनः परीक्षा हुँदै थियो। परीक्षक थिए, नेपाली जनता।
प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरु।
मंगलबार मध्यरात चिकित्सक लक्ष्मण रिजालले ट्विट गरेर आफ्नो अनुभव बाँडेका थिए ट्विटरमा, ‘बिरामी सबै समान हुन् र इलाजको प्रक्रिया पद्धति एकै हुने गर्छ सबैलाई। सर्जन भएकै नाताले एउटा अनुभव यता बाड्छु ल! भिआइपी, नजिकका या धेरै तिरबाट फोन घुमाइएका बिरामी अपरेसन भोलि गर्नुछ भने एक रात पहिले सर्जनको निन्द्रा २-४ पटक खुल्छ खुल्छ। हल्का तनाव हुन्छ हुन्छ।’
ज्ञवालीको टिमको जिम्मामा थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन। दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार बेलुका ५ बजेतिर अस्पताल पुग्दा प्रधानमन्त्री ओली जोशिला थिए। तर उमेर र शल्यक्रियाको जोखिमलाई चिर्न उनको उत्साह मात्र पक्कै काफी थिएन नै। चिकित्सक टोलीको कुशल क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने नै भयो।
चिकित्सक रिजालले ट्विटरमा बाँडेको अनुभव सत्य हो भने मंगलबार बेलुका पक्कै ज्ञवालीको पनि २-४ पटक निन्द्रा त खुल्यो होला नै।
०००
प्रधानमन्त्री ओलीलाई अस्पतालको शल्यकक्षभित्र लगेदेखि नै अब के होला भन्ने जिज्ञासा बढिरहेको थियो। शिक्षण अस्पताल परिसरमा उपस्थित शुभचिन्तक र जिज्ञासुसँगै अस्पताल परिसर पुग्न नसकेका सबै नेपाली आफ्नो प्रधानमन्त्रीको शल्यक्रियाको सुखद् सूचनाको प्रतीक्षा गर्ने नै भए।
प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण चलिरहेका बेला त्रिवि शिक्षण अस्पताल परिसरमा भेला भएका पत्रकार तथा शुभेच्छुकहरू।
मन्त्री, नेता, सासंद् पनि आइरहेका थिए, अस्पतालमा। उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पद्मा अर्याल, नेकपा महासचिव विष्णु पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, सुवास नेम्बाङ लगायत अस्पताल पुुुगेका थिए।
.jpg)
अस्पताल परिसरमा भेला भएकाहरुले ‘गेट वेल सुन पिएम’ लेखेको ब्यानर झुन्ड्याएका थिए। हात–हातमा पम्पलेट थियो। मुहारमा हल्का चिन्ता देख्न सकिन्थ्यो।
०००
शल्यक्रियाको प्रगतिबारे आधिकारिक रूपमा सूचना जारी गर्ने संयन्त्र सक्रिय भइसकेको थिएन। तैपनि सूचना आइरहेका थिए, ‘शल्यक्रिया शुरु’, ‘दाता समीक्षाबाट मिर्गौला झिकियो’, ‘प्रधानमन्त्रीको शरीरमा नयाँ मिर्गौला राखियो’, ‘समीक्षाको अवस्था सामान्य।’
शल्यक्रिया शुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्रीको शरीरमा उनकी भाञ्जी ३२ वर्षीया समीक्षाको मिर्गौलालाई बास दिन पाँच घन्टा जति लाग्ने भनिएको थियो। समय जति नजिकिँदै थियो, जिज्ञासा त्यत्ति बढ्दै थियो।
शल्यक्रिया कक्षमा छिरेको झन्डै ५ घन्टापछि चिकित्सक टोली दिउँसो २: ४५ मा सो कक्षबाट बाहिरिए। शल्यक्रिया कक्षमा खटिएका चिकित्सक अस्पतालको झ्यालमा आए र मुस्कानका साथ अस्पताल परिसरमा भेला भएकाहरूतिर फर्किएर हात हल्लाए।
प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल भएपछि हात हल्लाउँदै शल्यक्रिया गरेका चिकित्सकहरू।
उनीहरुले बोलेका थिएनन्। तर हातको इशाराले नै बतायो, ‘प्रत्यारोपण सफल भो।’ हसिलो मुहार लिएर शल्यकक्षबाट बाहिरिएका डा ज्ञवाली भेटिए। उनले नेपाल लाइभसँग खुसी साट्दै भने, ‘निकै खुसी लागिरहेको छ।’
०००
१२ वर्ष अगाडि भारतीय अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गरेर बसेका प्रधानमन्त्री ओलीले एकाएक आइतबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका थिए।
प्रत्यारोपणको तयारीबारे पटकपटक सूचना आइरहेकै हुन्। प्रत्यारोपणका लागि कहिले सिंगापुरमा जाने सूचना आयो, कहिले अमेरिका। चीन र भारतको कुरा पनि मिसिए बेलाबखत।
आइतबार उनले घोषणा गरेको स्थल थियो त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज। दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा सफलताको मापन उच्च छ। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नेमा प्रधानमन्त्री ओली नवौं थिए। यसभन्दा अगाडिका ८ शल्यक्रिया सफल भएको थियो।
त्यसैले टिम प्रधानमन्त्रीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयार थियो। तर हल्का प्रेसरका साथ।
०००
शल्यक्रिया कक्षमा चिकित्सक, सहयोगी र प्राविधिको टोली २ समूहमा बाँडिएको थियो। शल्यचिकित्सा टोलीमा डा उत्तमकुमार शर्मा, डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक डा अनन्तकुमार थिए भने प्रत्यारोपण चिकित्सा टोलीमा डा दिव्यासिंह शाह, महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रविन नेपालीलगायतको टोली सहभागी थिए। यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र डा सुवास आचार्यलगायतको टोली सहभागी थियो।
एक टोली दाताको मिर्गौला झिक्न खटिएको थियो। अर्को टोली दाताबाट झिकिएको मिर्गौला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गर्न खटिएको थियो। पहिलो टोलीले दाता समीक्षाबाट ल्याप्रोस्कोपिक विधीबाट मिर्गौला झिकेको थियो। यो विधि अपनाउँदा धेरै घाउँ लाग्दैन।
समीक्षाको बाँयातर्फको मिर्गौला झिकेपनि तत्काल प्रत्यारोपण गरिएन।

दाताको शरीरबाट निकालिएको मिर्गौला सिधै लिने व्यक्तिमा शरीरमा राखिँदैन। पहिला झिकेको मिर्गौलालाई स्लाइनले आइसमा डुबाउँदै सफा गरिन्छ। मिर्गौलामा भएको रगत र फ्याट सफा गर्नुपर्छ। त्यसपछि मात्र लिने व्यक्तिको शरीरमा राखिन्छ। उपचारमा खटिएका एक चिकित्सकका अनुसार प्रधानमन्त्रीमा मिर्गौलाको प्रत्यारोपणमा पनि यही विधि अपनाइएको थियो।
प्रत्यारोपणमा खटिएको अर्को टोली सक्रिय भयो। उनीहरूले प्रधानमन्त्रीको बाँयातिर नयाँ मिर्गौला राखे। नसाहरू जोड्न ३९ मिनेट लाग्यो। सबै प्रक्रिया पूरा गर्न सवा चार घण्टा लाग्यो। प्रत्यारोपणको प्रक्रिया करिब पौने तीन बजेतिर सम्पन्न भयो। नयाँ मिर्गौलाले काम शुरु गर्दै पाँच सय एमएल पिसाब निकालिएपछि चिकित्सक टोली खुसी हुँदै शल्यक्रिया कक्षबाट बाहिरिएको थियो।
समीक्षा सामान्य, प्रधानमन्त्री स्थिर
समीक्षाको शरीरबाट मिर्गौला निकालिसकेपछि आवश्यक उपचार प्रक्रिया अगाडि बढाउँदै उनलाई शल्यकक्षबाट बाहिर ल्याइएको थियो। दाताको शरीरबाट निकालेको मिर्गौला लिने व्यक्तिमा प्रत्यारोपण गर्न एकदेखि डेढ घन्टाको समय लाग्छ।
समीक्षालाई बाहिर ल्याउँदा प्रधानमन्त्रीको शरीरमा मिर्गौला प्रत्यारोपण भइरहेको थियो। मिर्गौलाको सफल प्रत्यारोपण भइसकेपछि मात्र प्रधानमन्त्रीलाई शल्यकक्षबाट बाहिर ल्याइयो। मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओली र समीक्षालाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्डमा सारिएको थियो।
अस्पतालका निर्देशक प्रेमकुमार खड्काले निकालेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति स्थिर छ। दाता समीक्षाको अवस्था सामान्य छ। प्रधानमन्त्रीको स्वास्थ्यका मुख्य सूचक राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको डा खड्काले बताए।
अब यो बीचमा कुनै जटिलता नआए प्रधानमन्त्री ओली एक साताभित्र अस्पलतालबाट प्रधानमन्त्री निवास बालुवाटार जानेछन् उस्तै उत्साहका साथ, हात हल्लाउँदै।
मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका सदस्यहरू
प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाई, डा. सुजित पौडेल।
मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीका सदस्यहरू
प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली, डा. सन्तोष क्षेत्री।
एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीका सदस्यहरू
डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा. अमित शर्मा भट्टराई र डा. बिगेन मान शाक्य।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।