काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेका बाँकी सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिएका छन्। बुधबार त्रिभुवन विमानस्थलमा सरोकारवालाहरुलाई राखेर उनले कामका विविध क्षेत्रहरुको मिति नै तोकेर ती काम तोकिएको मितिमा सक्न कडा निर्देशन दिएका हुन्।
मन्त्रालयका सचिव केदारबाबु अधिकारी, सहसचिव रुद्रसिंह तामाङ, सह सचिव बुद्धिसागर लामिछाने, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको उपस्थितिमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, आयोजनाका प्रमुख मुरारी भण्डारीलगायतलाई एकै ठाऊँमा राखेर मन्त्री भट्टराइले वैशाख १३ गतेभित्र पार्किङ वे, निर्माणधीन नयाँ आवागमन कक्षको सम्पूर्ण काम चैत २१ गतेभित्र, निर्माणधीन नयाँ प्रस्थानकक्षको काम चैत १ गतेभित्र सक्न निर्देशन दिएका हुन्।
त्यस्तै, एसियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आइसिपीको सबै काम ३ वर्षभित्र, प्यारालाल टयाक्सी वेको निर्माणका लागि आगामी तीन महिनाभित्र, कनभेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्ने उनले समय सीमा तोकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।