काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क, सेनिटाइजरलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।
विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले मास्क लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेकाे छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बजारमा सर्जिकल मास्कको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्ट स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना गरेर मूल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा मास्क अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए।
महानिर्देशक सुवेदीले सर्जिकल मास्क अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए। ‘अहिले धेरै व्यवसायीले ५ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३०/३५ रुपैयाँसम्म बेच्ने गरेको र केही व्यवसायीहरुले मूल्य वृद्धि गराउनकै लागि लुकाएर राखेको भन्ने सूचना आएको छ,’ हामीले गहन अनुगमन गरेपछि केहीलाई कारबाही पनि गरेका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।