काठमाडौ- ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन्। सिंह सिन्धुपाल्चोकको हेलम्बुमा रहेको सोर्सिङ गाउँमा फागुन २३ आउने तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए।
हिडन ट्रिजरको समन्वयमा नेपाल आउन लागेकी टोनी फागुन २३ गते हेलम्बु पुग्ने र १ दिन बस्ने कार्यक्रम तय भएको उनले बताए।
हेलम्बुमा उनले ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ पुग्ने कार्यक्रम तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष लामाले बताए।
सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘ब्युटी विथ पर्पस’ प्रोजेक्टका लागि छानिएको स्थान हो। उक्त गाउँको भिडियोले विश्वलाई नै आकर्षित गरेको थियो।
त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन्। टोनीले सोर्सिङ गाउँमा एकघण्टा बिताउने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए।
त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न अनुष्काले सीपमुलक कार्यक्रमहरु पनि चलाइरहेकी छन्।
२२ गते काठमाडौं आइपुग्ने ‘मिस वर्ल्ड’ टोनी फागुन २३ मा हेलम्बु पुगेर काठमाडौं फर्किेनेछिन्। टोनीको नेपाल बसाइ दुई दिनको छ। पर्यटन वर्ष स्थगित भएको समयमा मिस वर्ल्डले गर्न लागेको भ्रमणले हेलम्बुमात्र नभई समग्र नेपालको नै प्रचार हुने अध्यक्ष लामाको तर्क छ।
मिस वर्ल्डलाई स्थानीय भेषभुषा, रीति परम्पराअनुसार स्वागत गर्ने सम्पूर्ण तयारी पुरा भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।