काठमाडौं– मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टिकाराम लामा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा लामा निर्विरोध निर्वाचित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय प्रतिनिधि सञ्जिव मिश्रले नेपाल लाइभलाई बताए। लामासहित १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।
लामा एन्फा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पा पक्षका हुन्। अर्को पक्षले उम्मेदवारी नदिएका कारण उनी निर्विरोध भएका हुन्।
यसअघि गत चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा विवाद बढेपछि तत्कालिन अध्यक्ष राजेन्द्र श्रेष्ठले सूचना टाँसेर स्थगित गरेको जनाकारी दिएका थिए। तर बहुतम क्लबले निर्वाचन गराएको थियो। उक्त निर्वाचनमा पनि लामा निर्वाचित भएका थिए। यद्यपी एन्फाले निर्वाचनलाई आधिकारिकता दिन अस्विकार गरेको थियो।
त्यसपछि मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले आफूहरुलाई मताधिकारबाट बञ्चित भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटको सुनुवाइपछि उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो।
अहिले दुवै जिल्लामा निर्वाचन हुने तय भएकाले एन्फा निर्वाचनको अन्योलता हटेको छ। शुक्रबार मकवानपुरको निर्वाचन सकिदा भक्तपुरको निर्वाचन चैत २७ का लागि तोकिएको छ।
दुई जिल्लाको निर्वाचनपछि एन्फाको निर्वाचन समितिले वैशाखको पहिलो साता केन्द्रीय समितिको निर्वाचन तोक्ने बताइएको छ। एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।