दैलेख- पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकजनालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनी फरार रहेका थिए।
जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थित गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई मंगलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए। हत्या आरोपित खड्कालाई कैलाली जिल्लाबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले बताए।
जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए।
लामो खोजीपछि २०६५ को वर्षायाममा नौमुले गाउपालिकामा पर्ने साविकको द्धारी गाविस–१ स्थित नेरा निमावि नजिकको जंगलबाट पत्रकार थापाको कंकाल फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।