धनगढी- विश्वभरीका नेपाली भाषी साहित्यकारहरूको सात दिनसम्म धनगढीमा साहित्यिक जमघट भयाे । विश्व नेपाली साहित्य महोत्सव मंगलबार समापन भएको हाे।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको प्रवर्द्धनमा गत १४ गतेदेखि सुरु भएको साहित्य महोत्सवमा नेपालका विभिन्न शहर तथा जिल्लाका साथै भारतको सिक्किम, मेघालय, सिलगुडी, असाम, मणिपुर, देहरादुन, दार्जिलिङ तथा म्यान्मा (बर्मा) अमेरिका लगायतका नेपाली भाषी साहित्यकार, संस्कृतिविद, भाषाविद्, लोक संस्कृतिकर्मी, कलाकार लगायत चार सय बढिको सहभागिता रहेको थियो। सात दिनसम्म चलेको महोत्सवमा विभिन्न शिर्षकमा ५२ वटा साहित्य सत्र भएका थिए।
समापन कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए। समापनको अवसरमा महोत्सव आयोजना गर्नमा सहयोग गर्ने स्थानीय तह, प्रदेश सरकारलगायत निजी क्षेत्र, सञ्चार माध्यम, प्राज्ञलगायत व्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ। उनीहरुलाई पूर्वप्रधानमन्त्री देउवाले सम्मान गरेका थिए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखक, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी सावद, नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री कर्ण थापा, सांसद प्रदेश सभा सदस्य, धनगढी उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेशको भाषा हराउँदै गएको छ– सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको बताएका छन्। विश्व नेपाली साहित्य महोत्सवको धनगढीमा समापन समारोहमा बोल्दै सभापति देउवाले सुदूरपश्चिमेलीहरुले आफ्नो भाषा बोल्नै छोडेकाले लोप हुने अवस्थामा पुगेको बताए।
सभापती देउवाले भने, 'सुदूरपश्चिमको भाषा बोलिचालीबाट हराउदै गएको छ कति दिन टिक्छ र? उनले आफ्नो भाषा संस्कृति बोल्न छोड्न नहुने आग्रह गरे।' यस्तै सभापति देउवाले पश्चिम सेती परियोजनालाई निर्माणका लागि विदेशीको मुख ताक्नु भन्दा सुदूरपश्चिमेलीलाई शेयर दिएर यहिका नागरिकले आफ्नै पैसाले बनाउन आँट गर्नुपर्ने बताए।
यस्तै विश्व नेपाली साहित्यिक महोत्सवको समापन समारोहका विशिष्ठ अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भाषाकला र साहित्यमार्फत् विश्वभरिका नेपाली भाषीलाई सुदूरपश्चिम सग जोडाएकोमा सुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धन्यवाद दिए। कार्यक्रममा साहित्य समाजका अध्यक्ष रामलाल जोशीले ९ बुँदे घोषणा पत्र जारी गर्दै सुदूरपश्चिमका कला संस्कृति र पहिचान विश्वसामु चिनाउन सफल भएको बताए।
नेपाली भाषा, साहित्यको माउथलोको रुपमा रहेको सुदूरपश्चिम प्रदेशलाई चेतना, साहित्य र संस्कृतिको प्रदेश बनाउन २०७६ साल फागुन १४ देखि २० गतेसम्म आयोजना भएको नेपाली भाषीहरुको महासम्मेलनका रुपमा विश्व नेपाली साहित्य महोत्सव पूर्णरुपमा सफल भएको र यसले सुदूरपश्चिम प्रदेशको सान, मान र गौरव बढाएको महसुश गर्दै हरेक वर्ष यसलाई निरन्तर रुपमा सञ्चालन गर्न तथा दोस्रो शृंखलाका रुपमा आगामी वर्ष विश्व नेपाली नारी साहित्य महोत्सव गर्ने प्रस्ताव गर्दै प्रदेश सरकारसँग आफ्नो वार्षिक योजनामा राख्न यो महोत्सव आग्रह गर्दछ।
घोषणा पत्रमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिहंलाई राष्ट्रिय विभुति घोषणा गरिनुपर्ने, अर्को बर्षे विश्व नेपाली नारी साहित्य महोत्सवको आयोजना गर्ने प्रस्ताप गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।