सांकेतिक तस्बिर
राजविराज– सप्तरीमा जंगली हात्तीको आक्रमण बढ्दै गएको छ। हात्तीको आक्रमणमा परी एक साताभित्रै दुईजनाले ज्यान गुमाएका छन्।
पछिल्लो पटक अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भावनीपुरकी ५५ वर्षिया मजादेवी सरदारको हात्तीको आक्रमणवाट मृत्यु भएको छ।
जंगलमा गाई चराउन गएकी उनी आइतवारदेखि सम्पर्कविहीन थिइन्। परिवारका सदस्यले खोजतलासका क्रममा मंगलवार उनलाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी र स्थानीयवासीका अनुसार हात्तीको आक्रमणबाटै सरदारको मृत्यु भएको हो।
घटनाको थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। यसअघि गत शनिवार कञ्चनरुप नगरपालिका–५ पथरीटोलकी ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो। घाँसदाउरा खोज्न कोशी टप्पु वन्यजन्तु आरक्षमा गएका बेला हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए।
सप्तरीमा पछिल्लो समय हात्ती अर्ना, बँदेललगायतका जंगली जनावरको आक्रमण बढेको छ। सप्तकोशी, कञ्चनरुप, हनुमाननगर–कंकालिनी, खडक र सुरुङ्गा नगरपालिका तथा तिरहुत, अग्निसाइर कृष्णा सवरण, रुपनी गाउँपालिकाका दर्जन बढी गाउँका सर्वसाधरण जंगली जनावरका कारण त्रसित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।