काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा गरिने भिजिट नेपाल २०२० का प्रवर्द्धनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। 
शनिबार नेपाल लाइभसँगको कुराकानीमा मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमणका कारण विश्वभर गरिने नेपालको पर्यटन प्रचार तथा प्रसारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्। 
'विश्वमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर भ्रमण वर्ष प्रवर्द्धनका कार्यक्रम स्थगित गरिएको छ,' मन्त्री भट्टराईले भने। 
२ वर्षअघि शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने लक्ष्य लिएको थियो। २०२० जनवरी १ मा भव्य कार्यक्रम गरी नेपालमा उद्घाटन गरिएको भ्रमण वर्ष विश्वका विभिन्न स्थानमा जनवरी ७ मा उद्धाटन गरिएको थियो। 
२० लाख भित्र्याउने लक्ष्यका साथ सुरु भएको पर्यटन वर्षको सुरुमा नै धक्का लागेको छ। अन्नपूर्ण हिमशृंखलमा गएको हिमपहिरो र कोरोना भाइरसले सरकारको लक्ष्यमा धक्का पुर्याएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।