काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई ५–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। अर्को खेलमा रियल मड्रिड लेभान्टेसँग १–० ले पराजित हुँदा बार्सिलोनालाई फाइदा पुगेको हो।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको २५ खेलमा ५५ अंक रहेको छ भने दोस्रोमा रहेको रियल मड्रिडको २५ खेलमा ५३ अंक रहेको छ।
इबरविरुद्ध बार्सिलोना कप्तान लियोनल मेस्सीले खेलको ४० मिनेटमा नै ह्याट्रिक पूरा गरेका थिए। उनले १४औँ, ३७औँ र ४०औँ मिनेटमा गोल गरेका हुन्। पहिलो हाफ ३–० मा सकिएको खेलमा दोस्रो हाफमा दुई गोल भएको थियो।
भर्खरै बार्सिलोना ल्याइएका मार्टिन ब्रेथवेटले डेब्यू गरेको खेलमा ८७औँ मिनेटमा उनकै उत्कृष्ट खेलमा मेस्सीले चौथो गोल गरेका थिए। खेलको ८९औँ मिनेटमा ब्रेथवेटको असिस्टमा आर्थरले गोल गर्दै ५–० को जित दिलाए।
लेभान्टेविरुद्ध रियल मड्रिडले खेलमा दबाब बनाए पनि गोल गर्न भने सकेन। ७९औँ मिनेटमा लेभान्टेका लुइस मोरालेसको उत्कृष्ट गोलमा १–० को जित निकालेको थियो। हारले शीर्ष स्थानमा रहने रियल मड्रिडको योजना सफल भएन।

अर्को आइतबार राति ला लिगामा नै हुने एल क्लासिकोले ला लिगा विजेताको अनुमान सहज हुने विश्लेषण भइरहँदा बार्सिलोना अहिले शीर्षमा उक्लिएको हो। यसअघि रियल मड्रिड बार्सिलोनाबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। यसैले अहिले रियल मड्रिडको मैदानमा हुने खेलको प्रतिक्षामा फुटबल समर्थक छन्।
त्यसअघि दुवै टिमले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो खेल खेल्दैछन्। जसमा बार्सिलोनाले नापोलीसँग खेल्नेछ भने रियल मड्रिडले म्यानचेस्टर सिटीसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।