काठमाडौं- महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ।
शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक राष्ट्र अष्ट्रेलियामाथि भारतले १७ रनको जित हात पारेको हो। १३३ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १९.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।
अलिसा हेलीले अर्धशतकसहित ५१ रन बनाएपनि टिमलाई जिताउन सकिनन्।
बलिङतर्फ भारतकी पुनम यादवले ४ विकेट लिइन्। उनले ४ ओभरमा मात्र १९ रन खर्चिइन्। त्यस्तै, शिखा पाण्डेले ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३२ रन बनाएको थियो। भारतकी दिप्ती शर्माले अविजित ४९ र शफाली वर्माले २९ रन बनाए।
१० राष्ट्र रहेको विश्वकपमा दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा घरेलु टोली अष्ट्रेलियासँगै भारत, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेश रहेका छन्। समूह ‘बि’ मा पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र थाइल्यान्ड छन्। थाइल्यान्ड विश्व कप खेल्ने एक मात्र एसोसिएट राष्ट्र हो। थाइल्यान्डमै भएको छनोट प्रतियोगितामा नेपाललाई पराजित गर्दै थाल्यान्ड विश्व कपका लागि छनोट भएको थियो।
विश्व कपको फाइनल मार्च ८ तारिखमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।