काठमाडौं- थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि ९ नेपाली बक्सिङ खेलाडी छनोट भएका छन्।
सातदोबाटोमा भएको प्रतियोगिताबाट पुरुषमा ६ र महिलामा ३ गरी ९ खेलाडी थाइल्यान्डको पटायामा अप्रिल १ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपका लागि छनोट भएका हुन्। नेपाल बक्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा महिला ५१ केजीमा नेपाल आर्मीकी ललिता महर्जनले नेपाल प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्दै छनोट भइन्।
त्यस्तै, महिलातर्फ कै ५७ केजीमा आर्मीकी मिनु गुरुङले आर्मीकै चन्द्रकला थापाबाट वाक ओभर पाउदै छनोट भइन्। महिला ६० केजीमा नेपाल आर्मीकी पुनम रावल बुधबारै छनोट भइसकेकी थिइन्।
पुरुष ५२ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले आर्मीका सुशिल थापा मगरलाई, ५७ केजीमा आर्मीका पुरन सुनुवारले ललितपुरका बुद्ध ग्याम्जो लामालाई, ६३ केजीमा काठमाडौंका सनिल शाहीले झापाका अभिनय राईलाई पराजित गर्दै छनोट भए। त्यस्तै, ६९ केजीमा प्रहरीका भुपेन्द्र थापाले दाङका विकास राणा र ८१ केजीमा आर्मीका गणेश प्रधानले दाङका केशर खत्रीलाई हराउँदै छनोट हुन सफल भएका हुन्। त्यस्तै, प्रतिद्वन्द्वीविहीन आर्मीका रवि सुनुवार ७५ केजीमा स्वतः छनोट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।