काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर मार्टिन ब्रेथवेटलाई क्लब भित्र्याएको छ। बार्सिलोनाले १८ मिलियन युरो तिरेर लेगानेसबाट उनलाई ल्याएको हो।
उसमान डेम्बेले ६ महिना मैदानबाहिर भएपछि नयाँ स्ट्राइकर किन्ने अवसर पाएको हो। लुइस स्वारेज र उसमान डेम्बेले घाइते भएकाले अनुभवि स्ट्राइकरको अभावमा रहेको बार्सिलोनाले डेम्बेलेको स्थानमा १५ दिनभित्र नयाँ खेलाडी किन्ने अवसर पाएको थियो।
यो सिजनको बाँकी समयका लागि भनिए पनि ब्रेथवेटको सम्झौता २०२४ जुन ३० सम्मको छ। उनलाई अर्को क्लबले लैजान अहिलेका लागि बार्सिलोनाले ३ सय मिलियन बाइआउट क्लज राखेको छ।
१९९१ मा डेनमार्कमा जन्मिएका ब्रेथवेटसँग ला लिगाको अनुभव भएकाले नै बार्सिलोनाको नजर उनीमाथि परेको जनाएको छ।
यसवियर, मिड्जील्याण्ड जस्ता क्लबमा युवा उमेर बिताएका ब्रेथवेट २००९ मा डेनमार्ककै यसवियर सिनियर टिममा गएका थिए। २०१३ मा फ्रेन्च क्लब टुलुज गएका थिए। २०१७ मा इंग्ल्याण्ड गएका उनी मिडिल्सवर्गमा दुई सिजन रहे।
२०१९ मा लेगानेस गएका ब्रेथवेट अहिले बार्सिलोना पुगेका हुन्। लेगानेसबाट २४ खेल खेलेका उनले ६ गोल गरेका थिए।
डेनमार्कमा यु१७, यु१९ टिम हुँदै राष्ट्रिय टिममा २०१३ मा पुगेका उनले राष्ट्रिय टिमका लागि ३९ खेलमा ७ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।