काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर उसमान डेम्बेले ६ महिना मैदानबाहिर भएपछि नयाँ स्ट्राइकर किन्ने अवसर पाएको छ।
तर, लेगानेसबाट स्ट्राइकर मार्टिन ब्रेथवेट किन्ने तयारी गरेको बार्सिलोनाले किन्नुअघि नै बेच्ने योजनासमेत बनाइसकेको छ।
लुइस स्वारेज र उसमान डेम्बेले घाइते भएकाले अनुभवि स्ट्राइकरको अभावमा रहेको बार्सिलोनाले डेम्बेलेको स्थानमा १५ दिनभित्र नयाँ खेलाडी किन्ने अवसर पाएको थियो।
जसमा ला लिगाकै पुछारतिर रहेको लेगानेसबाट ब्रेथवेट ल्याउने तयारी अन्तिम चरणमा छ। उनलाई छोटो समयका लागि क्लबमा ल्याइने हुँदा त्यसपछि कता बेच्न सकिन्छ भन्ने खोजीमा बार्सिलोना लागेको हो।
बार्सिलोनाले २०२३ सम्मको सम्झौतामा ब्रेथवेटलाई ल्याउने भए पनि उनले टिममा आफ्नो स्थान बनाउन नसके कता बेच्न सकिन्छ भन्ने तयारी गरेको हो।
ब्रेथवेटका लागि १८ मिलियन युरो तिर्न बार्सिलोना तयार भएपछि बिहीबार अबेरसम्म उनलाई क्लब भित्र्याउने तयारी सुरु भएको स्पेनिस सञ्चार माध्यममा खबर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।