काठमाडौं– लगातार चौथो खेलमा पराजित भएसँगै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। रुपन्देही बिहीबार भएको आफ्नो चौथो खेलमा महेन्द्रनगर युनाइटेडसँग ४ विकेटले पराजित भएको हो।
महेन्द्रनगरको भने यो दोस्रो जित हो। दोस्रो जितसँगै ४ अंक जोडेर महेन्द्रनगर दोस्रो स्थानमा उक्लिएपछि रुपन्देही बाहिरिएको हो। ६ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा छ भने तेस्रो स्थानको विराटनगर र चौथो स्थानको धनगढीको समान ४–४ अंक छ।
अब अन्तिम खेलमा टिम चौराहा धनगढीलाई पराजित गरेपनि रुपन्देही शीर्ष चारमा पर्नेछैन।
यसअघि रुपन्देही सिवाइसी अत्तरियासँग ९ विकेट, काठमाडौं गोल्डेन्ससँग ६३ रन र विराटनगर किङ्ग्ससँग ४२ रनले पराजित भएको थियो।

बिहीबार रुपन्देहीले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले ७ बल बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो । महेन्द्रनगरको जितमा कप्तान विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे। उनले ६१ रन जोडे। आउट हुनुअघि ४८ बलको सामना गर्दै उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै पुनित मेहरा पनि १६ रनमा नटआउट रहदा रोहितकुमार पौडेलले नटआउट ७ रन बटुले।
त्यसअघि आसिफ शेख ५ रनमा आउट हुँदा करण केसी खाता नै नखोली पेभिलियन फर्के। पुनित विष्टले ४५ रनको योगदान दिए। उनले २२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। हरिशंकर साह शून्य रनमा आउट हुँदा आरिफ शेखले ४ रन भन्दा बढी जोड्न सकेनन्।
बलिङतर्फ रुपन्देहीका दीपेश श्रेष्ठले ३ र सुसन भारीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। ओपनिङमा आएका सोनु अन्सारी २ रनमै आउट भएका थिए। अर्का ओपनर प्रदीप ऐरीले ३९ रनको योगदान गरे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए। कुशल मल्ल १५ र दीपक प्रसाद १७ रनमा आउट भए।
सागर पुनले १६ बलमा २८ रन जोडेपछि रुपन्देहीको स्कोरले गति लिएको थियो। सागरले १ चौका र ३ छक्का हिर्काए। सुफायन मोहमद ९ र अमरसिंह रटेउला पनि ९ रनमै आउट भए। सुशनी भारी पनि ९ रनमै आउट हुँदा कप्तान शक्ति गौचन ३ रनमा नटआउट रहे।

बलिङतर्फ महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए। उनले ४ ओभरमा केवल १२ रन खर्चिए। भुवन कार्की, पुनित मेहरा, अभिनास कर्ण र करण केसीले समान १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।