काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ जग्गा प्रकरण सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधले ल्याइएको बताएका छन्।
२०६९ सालमा भट्टराई प्रधानमन्त्री भएको समय नेपाल ट्रष्टको १७३ रोपनी जग्गा मोहीलाई वितरण गरिएको थियो। उक्त जग्गा प्रकरणमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन गर्ने बताएपछि भट्टराईले नीतिगत निर्णयमाथि भ्रम छर्न खोजिएको बताएका हुन्।
२०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातीर्थको जग्गा मन्त्रिपरिषद्को नीतिगत निर्णयबाट जोताहा मोहीको नाममा पुगेको उनले स्पष्टिकरण दिएका छन्। डा भट्टराईले ट्विटरमा लेखेका छन्, ‘मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ। अरूमाथि हिलो छ्यापेर आफ्नो आङको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला!’
वर्तमान सरकारले जग्गा प्रकरणलाई अनावश्यक उछालेको आरोप लगाउँदै विधिसम्मत् नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ? उनले स्मरण गराएका छन्।
व्यक्तिका नाममा पुगेका जग्गा फिर्ता ल्याउने सरकारको प्रक्रियाप्रति समेत उनले आपत्ति जनाएका छन्। जोताहा किसानको नाममा पुगेको जग्गा फिर्ता गरी यती होल्डिङ्सलाई सुम्पने प्रपञ्च भएको आरोप लगाएका छन्। 'जोताहा किसानको जमिन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यती होल्डिङ्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन!’ भट्टराई लेख्छन्।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।