काठमाडौं– पवन सर्राफले अलराउन्ड प्रदर्शन गरेपछि धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किङ्ग्सले दोस्रो जित हात पारेको छ। विराटनगरले बिहीबार भएको खेलमा घरेलु टिम चौराहा धनगढीलाई १८ रनले पराजित गरेको हो।
जारी लिगमा विराटनगरको यो दोस्रो जित हो। धनगढीको भने यो दोस्रो हार हो। तीन खेलमा २ जितसहित ४ अंक जोडेको विराटनगर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलबाट ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा झरेको छ।
विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो। सामान्य लक्ष्य पछ्याएपनि धनगढीको ब्याटिङ चल्न सकेन। सवैभन्दा बढी रन बनाएका शंकर रानाले २५ रन जोडे। उनले ३८ बल खेल्दा १ चौका मात्र प्रहार गर्न सके। उनलाई अन्तिम ओभरको पहिलो बलमा पवनले सिकार बनाएका थिए। अन्तिम ओभरमा २७ रन चाहिएको धनगढीले सो ओभरमा ३ विकेट गुमाएको थियो। पवनले शंकरसँगै राजु रिजाललाई १८ रन तथा सांशद शेखलाई शून्य रनमा आउट गरेका थिए।
ओपनरद्वय अस्फाक अहमेदले २२ रन र सुनील धमलाले १२ रन मात्र जोड्न सके। युएईका कप्तान समेत रहेका रोहान मुस्ताफा ११ रनमा आउट भए भने राजेश पुलामी मगरले ८ र सोनु तामाङ १ रनमा पेभिलियन फर्कै। कप्तान सोमपाल कामी पनि ३ रनमै आउट भएपछि धनगढीमाथि विराटनगर हाबी बन्यो।
बलिङतर्फ विराटनगरका पवनले ४ विकेट लिए। बसन्त रेग्मी र कप्तान पारस खड्काले समान २–२ विकेट हात पारे। शुभम् कामतले १ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १ बल खेल्न बाँकी छदा १ सय २७ रनमा अलआउट भयो। विराटनगरका लागि पवन सर्राफले सर्वाधिक ४१ रन जोडे। सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ३४ बलमा १ चौका र २ छक्का हिर्काए। त्यसअघि ओपनर दिलीप नाथ ४ रनमा आउट हुँदा अनिलकुमार साहले २५ रन जोडे। साहले १९ बलमा ४ चौका र १ छक्का हिर्काए। बाबर हायत ८ बलमा १५ रन बनाएर आउट भए। उनले २ चौका र १ छक्का प्रहार गरे। पृथु बाँस्कोटा ३ र कप्तान पारस २ रनमा आउट भए। दुई ओपनरसहित पृथु र पारसलाई धनगढीका सुनील धमलाले आउट गर्दा विराटनगर दबाबमा आएको थियो। तर पवनले सम्हालिएर ब्याटिङ गरे। पवनसँगै शुभम् कामतको १८ रनमा पनि विराटनगरका लागि महत्वपूर्ण सावित भयो।
बलिङतर्फ धनगढीका सुनील धमलाले ४ विकेट लिँदा सोमपाल कामी र रोहान मुस्ताफाले २–२ विकेट हात पारे। ललित भण्डारी र सांसद शेखले १–१ विकेट आफ्नो नाममा लेखाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।