रोल्पा‚ होलेरी- बृहत शान्ति सम्झौतापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लडाकु बसेको पाँचौं डिभिजन दहवन रोल्पामा अहिले नेपाली सेनाको खड्गदल गण सुरक्षा गुल्म बसेको छ।
गुल्मको गेटअगाडि केही घर छन्, सबैभन्दा पुरानो घर हो सुखना घर्तीको। दहवनको काँडाहरूको जंगल फाँडेर माओवादी लडाकु बसेपछि ८/१० वटा घरहरु थपिए। त्यही बस्तीमा घर्तीको एउटा सानो पसल छ।
‘हामी माओवादी नबस्दै पहिलेदेखि नै बसेका हौं,’ घर्तीले भनिन्।
५५ वर्षीय घर्तीलाई अहिले सपनाजस्तो लाग्छ।
‘पहिलेजस्तो मान्छे आउँदैनन्, दिनभर नै सुनसान हुन्छ, कहिलेकाहीँ आउने मान्छेहरु पनि धेरै बेर बस्दैनन्, आर्मीले भित्र पस्न दिँदैन,’ हातले ब्यारेक देखाउँदै घर्तीले भनिन्, ‘यहाँ सबै काँडाको वन थियो, माओवादीले बस्ने बनायो।’
२०६४ सालमा क्यान्टोनमेन्ट बसेपछि दहवनमा मान्छेहरुको उपस्थिती बाक्लो बन्यो।
पाँचौं डिभिजनको मुख्यालय दहवनमा २ हजार ९ सय लडाकु बस्थे।
मानवअधिकारकर्मी, पत्रकारहरु र अनमिनको टोलीको कारण दहवनमा विकास हुँदै गरेको झल्को दिन्थ्यो। जंगलबाट क्यान्टोनमेन्टमा बस्न आएका लडाकुहरु हेर्नेहरुको भीडमा कहिल्यै कमी भएन।
तर सेना समायोजनपछि माओवादीका केही लडाकू घर फर्किए, केही सेनामा समायोजन भए।
त्यसपछि सुनसान बनेको दहवन रोल्पाको चमक घटेको छ।
क्यान्टोनमेन्ट रहँदा निर्माण भएका केही संरचनाहरुको सुरक्षाका लागि नेपाली सेना त बसेको छ तर अवस्था फेरिएको छ।
‘तत्कालीन क्यान्टोनमेन्टका डिभिजन कमान्डर सुकबहादुर रोका (शरद) अहिले उपराष्ट्रपतिको सचिवालयमा कार्यरत हुनुहुन्छ,’ स्थानीय पत्रकार एलवी मगरले भने, ‘क्यान्टोनमेन्ट उठेपछि अहिले दहवन सुनसान छ, पुराना संरचनाहरु पनि जीर्ण बन्दै गएका छन्।’
लडाकूको रुपमा दहवनको क्यान्टोनमेन्टमा करीब ३ वर्ष बसेका नवीनलोचन मगर अहिले पत्रकार छन्। क्यान्टोनमेन्टको तालिम विभागमा काम गरेका नवीनले करीब ७/८ वर्षपछि त्यहि भूगोलमा उभिएर बन्दुक र कलमको तुलना गरे। ‘त्यतिबेला बन्दुक पनि निश्चित अवधीको लागि गह्रुँगो थियो, तर अहिले कलम नै गह्रुँगो भएको छ।’
पूर्वलडाकू नवीन लोचन मगरले राजनीतिक दर्शनले अगाडि बढेका मानिसहरु क्रमशः विलासीपनमा लिप्त बन्न थालेको बताए। ‘एउटा दर्शनका कारण मर्न तयार हुने मान्छे अब छैनन्, नातावादमा हराए। कमाउनतिर लागे,’ उनको बुझाइ छ।
नवीन क्यान्टोनमेन्टमा बस्दा आफूले तालिम गरेको मैदान, हतियार राख्ने घरहरु हेरे। ‘पहिलेभन्दा धेरै जीर्ण भैसकेछ‚’उनले भने।
सेना बसेको ७/८ वर्ष भयो। नयाँ संरचना बनेका छैनन्। माओवादी लडाकूले निर्माण गरेका संरचनामा सेना बसेको छ। बाँकी संरचनाहरु जीर्ण बन्दै गएका छन्। अनमिनका कर्मचारीहरु बसेका संरचनाहरु पनि जीर्ण छन्। धेरै जसो संरचना प्रयोगविहीन अवस्थामा छन्।
बंकरहरु पुरिन थालेका छन्, सुरक्षा घरबाट टिनका पाता निस्किएका छन् भने ढुंगामाटोले बनेका घरहरु वर्षौंदेखि बन्द छन्।
सेनाले पर्याप्त संरक्षण गर्न सकेको छैन। ५० देखि ६०को संख्यामा नेपाली सेना बसेको छ। जनशक्तिको कमीका कारणले संरक्षणमा समस्या परेको गुल्मका एक अधिकारीले बताए।
स्थानीय सरकारले युद्ध पर्यटनको रुपमा विकास गर्ने सोच त बनाएको छ, तर योजनाहरु छैनन्।
‘नेपाली सेनाले दहवन छोडेपछि के हुने?’ स्थानीय जानकार तथा पत्रकार खेम बुढा प्रश्न गर्छन्।
पाँचौं डिभिजन दहवनअन्तर्गत रहेको उघाबाट नेपाली सेनाले हात झिकेको बताउँदै बुढाले यहाँबाट पनि सेना निस्कियो भने युद्धको इतिहास हराउँदै जाने बताए।
‘लडाकू बस्नका लागि बनाएका संरचना पनि हराउँदै गएका छन्। राज्यले संरचनाको संरक्षण गरेर भावी पुस्तालाई देखाउन सक्ने वातावरण बनाउनुपर्ने हो,’ बुढा भन्छन्, ‘लडाकु बसेपछि मुहार फेरिएको दहवन अहिले फेरि पुरानै अवस्थामा गएको छ।’
युद्ध पर्यटनको चर्चा लामो समयदेखि हुँदै आएको छ। तर पर्याप्त योजना बनिसकेका छैनन्। पहिलेजस्तै मान्छेहरु आइदिए हुन्थ्यो भन्ने लाग्छ दहवनकी सुखना घर्तिलाई। ‘पहिले मान्छे आउँदा डर लाग्थ्यो, अहिले मान्छेहरु आइदिए हुन्थ्यो जस्तो हुन्छ।’ उनले भनिन्।
पर्यटनको क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा मगरले बताए।
‘प्राकृतिक, धार्मिक पर्यटकीय स्थलहरुको साथसाथै युद्ध पर्यटनको विकासका लागि हामीले काम गर्ने योजना बनाएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।