बार्सिलोना– दुई आत्मघाती गोलको उपहार पाएको बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम ८ को खेलमा रोमामाथि विजयी भएको छ। आफ्रनो घरेलु मैदान नाउ क्याम्पमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा एक–एक गरी दुई गोल उपहारमा पाएको थियो।
अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई बल छक्याउने क्रममा खेलको ३८ मिनेटमा रोमाका डेनियल डे रोसी आफ्नै गोलपोष्टतर्फ चिप्लिएपछि पहिलो आत्मघाती गोल हुन पुगेको थियो।

दोस्रो हाफको ५५ मिनेटमा पनि रोमाका कोस्तास मनोलसले आफ्नो पोष्टमा बल छिराएपछि खेलमा रोमाको शक्ति फितलो बनेको थियो।
दोस्रो गोल उपहारमा पाएको ४ मिनेटपछि बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले हानेको प्रहार रोमाका गोलकिपर एलिसनले रोकेका थिए। तर पूर्ण रुपमा क्लियर नभएको सो बाउन्स बललाई ६ यार्डको दुरीबाट गेराड पिकेले गोलपोष्टको दिशा देखाएका थिए।

पेरोटीको क्रसमा इडिन डेजेकोले ८० मिनेटमा गोल गरेपनि रोमाका लागि खेलमा फर्किने संकेत बन्न सकेन।
उता च्याम्पियन्स लिगका पछिल्ला १० खेलमा एक पनि गोल नगरेका बार्साका लुइस स्वारेजले खेल सकिन ३ मिनेट मात्र बाँकी रहँदा पहिलो गोल गरे। उनले रोमाका डिफेन्डरले बल क्लियर गर्दा गरेको गल्तीको फाइदा उठाएका थिए। उनले गत वर्षको मार्चदेखि हालसम्म च्याम्पियन्स लिगमा एक गोल पनि गर्न सकेका थिएनन्।
बार्सिलोनाले आफ्नो घरेलु मैदानमा खेलेका २१ च्याम्पियन्स लिग खेलमध्ये २० खेलमा जित हात पारेको छ।

उता बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा सर्वाधिक गोल(११ गोल) गरे पनि गएरातिको खेलमा भने रोमाले सम्झनलायक प्रदर्शन गर्न सकेन।
बुधबार रोमाको मैदान स्टाडियो ओलिम्पिकोमा हुने दोस्रो लेग पनि जित्दै बार्सिलोना सन् २०१४–१५ को सिजनपछि सेमिफाइनल पुग्ने पहिलो टोली बन्न चाहन्छ।
खेलको अन्तिममा बार्सिलोना स्टार मेसीलाई च्याम्पियन्स लिगको अघिल्लो खेलमा गोल संख्या १ सय पुर्याएको अवसरमा सम्मान गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।