इंग्ल्यान्ड– पहिलो हाफको ३१ मिनेटभित्र ३ गोल गर्दै लिभरपुलले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। आफ्नै घरेलु मेदान एन्फिल्डमा भएको पहिलो लेगको खेलमा लिभरपुल ३–० ले विजयी भएको हो।
पछिल्लो समय फर्ममा रहेका फरवार्ड मोहमद सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाए। खेलको १२ मिनेटमा गोलपोष्ट नजिकैबाट हानेको प्रहारले गोलको दिशा लिएको थियो। यो गोलसँगै जारी सिजनमा सलाहको गोल संख्या ३८ पुगेको छ। यो गोल संख्या रियल मड्रिड स्ट्राइकर क्रिस्टियानो रोनाल्डोभन्दा मात्र एक गोलले कम हो। उनले च्याम्पियन्स दिगको यो सिजनमा मात्रै आफ्नो गोलसंख्यालाई ७ पुर्याएका छन्।

सलाहले गोल गरेको ८ मिनेटपछि नै एलेक्स अक्सलेड क्याम्बरलेइनले लिभरपुलका लागि दोस्रो गोल गरे। गोलपोष्टबाट मात्र २० यार्डको दुरीमा इडर्सनले दिएको छोटो पासलाई उनले सदुपयोग गरेका थिए।
खेलको ३१ मिनेटमा सलाहको पासमा साडियो मानेले हेड गोल गर्दै टोलीलाई सहज जित दिलाए। दोस्रो हाफमा आफ्नो खेलमा थप सुधार गरेपनि लिभरपुलले गोल भने गर्न सकेन।

उता खेलको ६६ प्रतिशत समय बल आफ्नो पक्षमा पार्दा पनि सिटीले गोल गर्न सकेन।
यो जितसँगै आगामि मंगलबार इतिहाद रंगशालामा हुने सिटीसँगको दोस्रो भेटमा लिभरपुलमाथि कम दबाब हुनेछ।
कुनै युरोपियन प्रतियोगितामा आफ्नो घरेलु मैदानमा लिभरपुल सन् २०१४ पछि अपराजित छ। यसअघि २०१४ को अक्टोबर मा रियल मड्रिडसँग लिभरपुल ३–० ले पराजित भएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।