काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी फेरि तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले पुलिसलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको हो। मनाङलाई जिताउन अञ्जन विष्ट र विमल रानाले गोल गरे।
खेलको ३२औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १–० गोलको अग्रता दिलाए। खेलको ४३औं मिनेटमा मनाङले अर्को गोल थप्यो। यो पटक भने निशान लिम्बुले दिएको क्रस पासमा अञ्जनले हेडर गोल गरेका हुन्।
पहिलो हाफमा नै २–० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा मनाङलाई रोकेपनि गोल गर्न भने सकेन। खेलको ९०औं मिनेटमा पुलिस १० खेलाडीमा सीमित बन्यो। विशाल बस्नेतले रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा झरेको हो। विशालले मनाङका विमललाई गम्भिर फोउल गरेका थिए।
जितसँगै मनाङले थ्रीस्टार क्लबलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लएको छ। मनाङको १२ खेलबाट २५ अंक छ। मंगलबार नै भएको अर्को खेलमा थ्रीस्टार क्लबले न्यु रोड टिम (एनआरटी) लाई १–० गोलले पराजित गरेको थियो। चौथो स्थानमा रहेको थ्रीस्टारको १२ खेलबाट २३ अंक छ।
लिगको शीर्ष स्थानमा भने आर्मी छ। १२ खेलमध्ये ९ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको आर्मीको २९ अंक छ। उपाधि दौडमा रहेको मछिन्द्रको पनि समान खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक छ। मछिन्द्र गत वर्ष लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको हुँदा उसको १ अंक भने काटिएको हो।
यो संस्करणको लिग मछिन्द्र र आर्मीमध्ये एक टिमले जित्ने छ। फागुन ३ गते मछिन्द्र क्लबसँग हुने खेल उपाधिका लागि आर्मीलाई बराबरीले पनि पुग्ने छ। यता, मछिन्द्रलाई भने उपाधि जित्न आर्मीलाई पराजित गर्नै पर्ने हुन्छ।
जारी लिगबाट सरस्वती युथ क्लब भने पुछारमा रहँदै वि डिभिजन लिगमा घटुवा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।