काठमाडौं- भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ।
मंगलबार तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्डले सिरिज ३–० ले जितेको हो। ५ खेलको टि–२० क्रिकेट सिरिजमा न्युजिल्यान्डमाथि क्लिन स्विप गरेको भारतविरुद्ध एकदिवसीय क्रिकेटमा भने न्युजिल्यान्डले बदला लिएको छ।
तेस्रो खेलमा २९७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा मात्र ५ विकेटको क्षतिमा लक्ष्य भेटायो। न्युजिल्यान्डका हेनरी निकोलसले ८०, मार्टिन गुप्टिलले ६६ र कोलिन डे ग्रान्डहोमले अविजित ५८ रन बनाए। त्यस्तै, टोम ल्याथमले अविजित ३२ रन बनाउँदा कप्तान केन विलियम्सनले २२ रनको योगदान दिए।
बलिङतर्फ युजभेन्द्र चाहालले ३ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनाएको थियो। भारतका लागि केएल राहुलले शतकसहित ११२ रन बनाए। तर उनको शतक हारसँगै काम लागेन।
त्यस्तै, श्रेयस ऐयरले ६२, मनिष पाण्डेले ४२ र पृथ्वी शावले ४० रन बनाएका थिए। बलिङतर्फ हामिस बेनेटले सर्वाधिक ४ विकेट लिए।
यसअघि भएको पहिलो एकदिवसीय खेलमा न्युजिल्यान्डसँग भारत ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २२ रनको सिकार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।