काठमाडौं- स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोना महिला टिमले रियल सोसिडाडलाई १०–१ ले हराउँदै उपाधि जितेपछि सोसिडाडका प्रशिक्षक गोन्जालो एर्कोनाडाले बार्सिलोनासँग कसैले प्रतिस्पर्धा गर्नै नसक्ने बताएका छन्।
बार्सिलोना टिम धेरै राम्रो हुनु स्पेनिस महिला फुटबलका लागि कत्तिको राम्रो विषय हो भन्ने प्रश्न उठाउँदै गोन्जालो भन्छन्– ‘हरेक टिमलाई लाग्छ कि हामी बार्सिलोनासँग प्रतिस्पर्धा गर्नै सक्दैनौँ। फुटबल फेडेरेसनले चाहेको के हो भन्ने विचार गर्नै पर्छ। यदि होइन भने हामी त सधैँ बार्सिलोनासँग सधैँ नै लज्जास्पद हार भोग्ने छौँ।’
खेलको पाँचौँ मिनेटमा नै गोल गर्दै अग्रता बनाएको बार्सिलोनाले त्यसपछि पनि सोसिडाडलाई लगातार दबाबमा राख्दै थप ६ गोल गरेको थियो।
बार्सिलोनाका प्रशिक्षक लुइस कोर्टेसले भने खेलमा सधैँ यत्तिको राम्रो हुन नसकिने प्रतिक्रिया दिएका छन्।
‘आश त सधैँ यसरी नै १० गोल गरेर जितौँ भन्ने हुन्छ तर खेलमा सधैँ यस्तो हुँदैन, हामी अब लिगमा नै भेट हुँदा पनि यस्तो जित निकाल्न सक्दैनौँ, धेरैजस्तो खेलमा त प्रतिस्पर्धा राम्रै भएको हुन्छ’ खेलपछि उनले भने।
गएको सिजन च्याम्पियन्स लिगमा उपविजेता रहेको बार्सिलोना महिला टिम जारी स्पेनिस लिगमा शीर्ष स्थानमा छ। जसमा दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा बार्सिलोना ९ अंकले अघि छ। बार्सिलोनाले १८ खेलमा १६ जित र दुई बराबरी गर्दा ६८ गोल गरेर ६ गोल मात्रै खाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।