काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले न्यू रोड टिम (एनआरटी) लाई १-० ले हराएको छ। लिगको १२औँ चरणको खेलमा जित निकालेको थ्री स्टार अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलको ७७औँ मिनेटमा थ्री स्टारका दिपेश घलले गरेको गोल जितका लागि पर्याप्त बनेको हो। सुशिल राईको स्थानमा दिपेश खेलको ७३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। त्यसको चार मिनेटमा नै उनले गोल गरेका हुन्।
एक टिम मात्र रेलिगेसन पर्ने एन्फाको नियमअनुसार रेलिगेसनमा सरस्वती युथ क्लब र उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब देखिँदा थ्री स्टार र एनआरटीबीचको खेल रोचक हुन भने सकेन।
१२ खेलमा ५ जित, २ बराबरी र ५ हारसहित १५ अंक रहेको एनआरटी आठौँ स्थानमा रहेको छ। गएको वर्ष रेलिगेसन बिनाको लिगमा अन्तिममा रहेको एनआरटीको जारी लिगमा दुई अंक कम गरिएको थियो।
चौथो स्थानबाट अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको थ्री स्टारको १२ खेलमा ७ जित, २ बराबरी र ३ हारसहित २३ अंक रहेको छ।
मंगलबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बिग्रेड ब्वाइज क्लबलाई ३-० ले हराएको थियो। मंगबलार नै नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच एन्फा कम्प्लेक्सकै मैदानमा खेल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।