काठमाडौं– ओमानका दुई खेलाडीले अमेरिकाविरुद्धको खेलमा शतक बनाएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गत त्रिदेशीय सिरिजमा त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध ओमानका कप्तान जिसान मकसोद र अकिब इलियासले शतक बनाएका हुन्।
कप्तान जिसान मकसोदले १०३ बलमा शतक पूरा गरे। उनले उनले १० चौका र ३ छक्का प्रहार गरे।
कप्तान जिसानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका हुन्। यसअघि उनले नेपालविरुद्ध एकदिवसीय क्रिकेटमा ६८ रन बनाउँदै व्यक्तिगत उच्च स्कोर बनाएका थिए।
यस्तै नेपालविरुद्धको दोस्रो खेलमा शतक बनाएका अकिब इलियासले अमेरिकाविरुद्ध पनि शतक बनाउँदै लगातार दुई शतक हानेका छन्। उनले १ सय १८ बलमा ११ चौका र १ छक्कासहित शतक बनाएका हुन्। नेपालसँगको खेलमा पहिलो एकदिवसीय शतक बनाउँदा उनले १ सय ८ बलमा १ सय ९ रन बनाएका थिए।
अकिब र जिसानले २ सय १६ रनको साझेदारी गरेका छन्।
यसअघि अमेरिकालाई एक र नेपाललाई दुई खेलमा हराइसकेको ओमनले सिरिज जितिसकेको छ। सिरिजको अन्तिम खेलमा बुधबार नेपाल र अमेरिका खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।