काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको उपाधि आर्मी र मछिन्द्र क्लबमध्ये कसले जित्ला? यो संस्करणमा भने निकै रोमाञ्चक भएको छ।
उपाधिका लागि अब आर्मीलाई मछिन्द्रसँगको खेल बराबरी काफि छ भने मछिन्द्रलाई जित्नै पर्ने दबाब।
मंगलबार विभागीय क्लब आर्मीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुग्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितका लागि भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले गोल गरे।
खेलको पाँचौ मिनेटमा नै आर्मीका लागि कप्तान भरतले गोल गर्दै १–० गोलको अग्रता दिलाए। योसँगै भरतले ए डिभिजन लिगमा ५०औं गोल पूरा गरे। उनले जारी लिगमा भने ४ गोल गरेका छन्।
पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा थप २ गोल गरेको थियो। खेलको ५४औं मिनेटमा विकास तामाङले गोल गरे। त्यस्तै खेलको ७०औं मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० गोलको जित दिलाए।
यो जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ। १२ खेल खेलेको आर्मीले ९ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोर्दै २९ अंक बनाएको छ। उपाधि दौडमा रहेको मछिन्द्रको पनि समान खेलबाट ९ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक छ। मछिन्द्र गत वर्ष लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको हुँदा उसको १ अंक भने काटिएको हो।
उपाधिका लागि अब आर्मी र मछिन्द्र क्लबबीचको अन्तिम खेलले नै छिनोफानो लाग्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।