काठमाडौं- चितवन टाइगर्सले दोस्रो विदेशी खेलाडीको रुपमा आयरल्यान्डका पाउल स्टर्लिङलाई अनुबन्धिन गरेको छ।
स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाट नै एभरेष्ट प्रिमियर लिग (इपिएल) खेलेका थिए। यो पटक पनि उनलाई क्लबमा अनुबन्धित गरेको चितवनले प्रेस विज्ञप्तिमा भनेको छ।
गत वर्ष चितवन इपिएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रमुख भुमिका थियो। आफ्नो क्लबमा स्टर्लिङलाई ल्याउन पाउँदा गर्व महशुस भइरहेको चितवनले उल्लेख गरेको छ। २९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
चितवनले खेलाउन लागेका स्टर्लिङ दोस्रो टेस्ट खेलाडी हुन् । यसअघि नै चितवनले अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्धिन गरेको थियो।
सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवनमा कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलिप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भीम शार्की, खडक बोहरा चितवन टिममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।