काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएकोे खेलमा मछिन्द्र क्लबले संकटालाई ३–१ गोलअन्तरले पराजित गरेको हो। मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई (बि) र दीपक राईले गोल गरे। यता, संकटाका लागि मेसोउके ओलाउमाउले गोल गरे।
खेलको ४४औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्र क्लबलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अघि रहेको मछिन्द्रले दोस्रो हाफमा थप २ गोल गर्दा संकटाले १ गोल फर्काए।
खेलको ६४औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई २–० गोलको अग्रता दिलाए। ८२औं मिनेटमा मछिन्द्रले फेरि अर्को गोल थप्दै ३–० गोलको अग्रता लियो। यो पटक भने दीपकले गोल गरे। खेलको ८९औं मिनेटमा मेसोउकेले गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याए पनि संकटाले हार टार्न सकेन।
जितपछि मछिन्द्र क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लब र विभागीय क्लब त्रिभुवन आर्मीबीच लिगको सुरुदेखि नै लुकामारी चलिरहेको छ। कुनै बेला मछिन्द्र शीर्ष स्थानमा कुनै बेला आर्मी शीर्ष स्थानमा रहँदै आउँदा लिग अझै रोमाञ्चक बनेको छ।
१२ खेल खेलेको मछिन्द्र क्लबको ९ खेलमा जित २ खेलमा बराबरी र १ खेलमा हारसहित २८ अंक बनेको छ। यता, लिगको दोस्रो स्थानमा रहेको आर्मीको एक खेल कम अर्थात ११ खेलबाट ८ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा जितसहित २६ अंक छ।
अब आर्मीले २ खेल खेल्न बाँकी रहेको छ भने मछिन्द्रले एक खेल मात्रै खेल्न बाँकी छ। आर्मीले मंगलबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग प्रतिस्पर्धा गर्दैछ। उपाधि दौडका लागि बिबिसीसँगको खेल आर्मीको लागि निकै महत्वपूर्ण छ। आर्मी र मछिन्द्र क्लबबीच लिगको अन्तिम खेल हुनेछ। उपाधिका लागि यहि खेलको हार जितले टुंग्याउने छ।
साेमबार नै भएकाे खेलमा च्यासल युथ क्लबसँग २–१ गोलअन्तरले पराजित हुृँदै सरस्वती युथ क्लब भने बि डिभिजन लिगमा घटुवा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।