काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपिएफले फ्रेन्ड्स क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोलअन्तरले पराजित गरेको हो। एपीएफको जितमा आशिष लामा र प्रविन कुमार स्याङ्तानले समान २–२ गोल गर्दा तोप बहादुर विष्टले एक गोल थपे। यता, फ्रेन्ड्सका लागि फिलिपे डे सउजा र विश्व अधिकारीले समान १–१ गोल गरे।
खेलको १२औं र ४०औं मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। खेलको ६९औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ गोलको स्थितिमा ल्याए। तर प्रविनले ७१औं मिनेटमा गोल गर्दै एपिएफलाई ३–१ गोलको अग्रता दिलाए। खेलको ७६औं मिनेटमा विश्वले गोल गर्दा फ्रेन्ड्स एपिएफसँग ३–२ गोलको स्थितिमा पुग्यो। तर अतिरिक्त समयमा टोपबहादुर र प्रविनले गोल गर्दै एपिएफलाई ५–२ गोलको जित दिलाए।
जितपछि एपिएफले १२ खेलबाट ८ अंक बनाएको छ। पराजित फ्रेन्ड्सको समान खेलबाट १४ अंक छ। लिगको शीर्ष स्थानमा आर्मी छ। आर्मीको ११ खेलबाट २६ अंक हुँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।