काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटियन बार्सिलोनाको खेलमा आफू खुसी रहेको बताएका छन्। यसअघि सोचेजस्तो खेल नभएको प्रतिक्रिया दिने सेटियनले रियल बेटिसलाई हराउँदा बार्सिलोनाको खेलमा आफू खुसी रहेको प्रतिक्रिया दिएका हुन्।
आइतबार राति ला लिगामा दुई पटक पछि परिसकेको बार्सिलोनाले खेलमा फर्कंदै रियल बेटिसलाई ३–२ ले हराएको थियो। जसमा लियोनल मेस्सीको तीन पासमा फ्रान्की डि योङ, सर्जियो बुस्केट्स र क्लेमेन्ट लङलेटले गोल गरेका थिए।
खेलको छैठौँ मिनेटमा नै लङलेटको ह्याण्डबलपछि पाएको पेनाल्टीमा बेटिसका सर्जियो क्यानालेसले गोल गर्दै अग्रता दिलाएका थिए। नवौँ मिनेटमा मेस्सीको पासमा डि योङले बराबरी गोल गरे। २६औँ मिनेटमा नबिल फेकिरको उत्कृष्ट गोलमा बेटिसले पुनः अग्रता बनाएको थियो।
पहिलो हाफ सकिनै लाग्दा बुस्केट्सले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए। मेस्सीको फ्रि किकमा लङलेटले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाउन भूमिका खेले।
खेलमा ७६औँ मिनेटमा बेटिसका फेकिर र ७९औँ मिनेटमा बार्सिलोनाका लङलेट दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएका थिए।
‘टिमको खेल मलाई निकै पन परेको छ। यस्तो कुराहरुलाई तपाइँले राम्रो हो भनेर तारिफ गर्नै पर्छ। हामीले सुधार गर्न मिल्ने ठाउँहरु अझै छन् तर म खुसी छु’ खेलपछि प्रशिक्षक सेटियनले भने।
‘उनीहरुले दबाब दिएर खेलेका थिए, हामीलाई खेलमा कुनै पनि समय सहज भएन। हामीले राम्ररी खेल्न पर्ने नै थियो। विपक्षीको मैदानमा तीन अंक जोड्न सक्नु राम्रो पक्ष हो’ उनले भने।
लिगको बीचमा प्रशिक्षक एर्नेस्टो भालभर्देको बर्खास्तीपछि नियुक्त भएका प्रशिक्षक सेटियनले जोहान क्रुफको शैलीमा बार्सिलोनालाई बढाउने प्रयास गरिरहेका छन्। उसमान डेम्बेले, लुइस स्वारेज घाइते रहेकाले अट्याकमा केही समस्या देखिए पनि बेटिसविरुद्धको खेलमा तीन भिन्न खेलाडी गोल गर्न सफल भएका थिए।
ला लिगामा २३ खेलमा ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडको २३ खेलमा ५२ अंक छ। आइतबार राति नै रियल मड्रिडले ओसासुनालाई ४–१ ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।