काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले न्यु रोड टिम (एनआरटी) लाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। मनाङको जितमा अञ्जन विष्टले २ गोल गरे। त्यस्तै, विमल राना र दयानन्द सिंहले समान १–१ गोल गरे। यता, एनआरटीका लागि सकल रेग्मीले १ गोल फर्काएका थिए।
खेलको ३५औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाए। ४३औं मिनेटमा अञ्जनले गोल गरेपछि मनाङ पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो।
दोस्रो हाफमा मनाङले २ गोल थप्दा एनआरटीले १ गोल फर्कायो। ६५औं मिनेटमा अञ्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको अग्रता ३–० मा पुर्याए। खेलको ८९औं मिनेटमा सकलले गोल गर्दै एनआरटीलाई ३–१ को स्थितिमा ल्याए। तर खेलको अतिरिक्त समयमा दयानन्दले गोल गर्दै मनाङलाई ४–१ गोलको जित दिलाए।
जितपछि मनाङले ११ खेलबाट २२ अंक बनाएको छ। मनाङ थ्रीस्टारलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लएको हो। थ्रीस्टारको ११ खेलबाट २० अंक छ। पराजित एनआरटी भने लिगको आठौं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने विभागीय क्लब त्रिभुवन आर्मी रहेको छ। आर्मीको ११ खेलबाट २६ अंक छ। लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको समान खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।